वादहरूको थुप्रोमुनि बिपीको समाजवाद उठ्नै नसक्ने गरी थिचिएकाे हाे त?
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाकै कुरा गरौँ, गएको विशेष महाधिवेशनताका उनले एउटा भावनात्मक अभिव्यक्ति दिएका थिए, ‘म बिपी वा गणेशमानको छोरा त होइन, मेरो शरीरमा उहाँहरूको रगत बगेको छैन । तर, ममा बिपी र गणेशमानको विचार छ ।यसो भनेर गगनले त्यो बेला वंशभन्दा विचारको राजनीति गर्ने नयाँ पुस्ताका नेताका रूपमा आफूलाई प्रस्तुत गरेका थिए ।
यी आला घटनाले कांग्रेसभित्र वैचारिक सहकार्यभन्दा गुटीय दूरी अझ बढ्दै गएको सन्देश प्रवाह भएको प्रमाणित भएको छ । यिनै कारण हुन्, जसको असर निर्वाचनमा पर्न गयो । बिपी, गणेशमान र महेन्द्रनारायण निधीले निर्माण गरेको समावेशी कांग्रेस संस्कृति आज बिटुलिएको छ ।
कुनै नेताको सन्तान हुनु राजनीतिक योग्यताको प्रमाण पक्कै होइन । तर, पार्टीका ऐतिहासिक धार, योगदान र सम्मानलाई पूर्णतः उपेक्षा गर्ने संस्कार पनि लोकतान्त्रिक दलका लागि स्वस्थ मानिँदैन । अझ विचारको राजनीतिको दाबी गर्ने नेतृत्वले फरक धार, पुराना पुस्ता र सम्मानित परम्परालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्छ ।
कांग्रेस सभापति थापाले बिपीको विचार वास्तवमै आत्मसात् गरेका हुन् भने उनमा सबैलाई समेट्ने क्षमता हुनुपर्छ, छुट्याउने होइन । उनले सबैसँग संवाद गर्नुपर्छ, दूरी बढाउने होइन । सहकार्य गर्नुपर्छ, बहिष्करण होइन । बिपीले आफ्नो जीवनभर मतभेदलाई संस्थाभित्र व्यवस्थापन गर्ने राजनीति गरे । बिपीको नाम उच्चारण गर्नु मात्र पर्याप्त होइन, उनको राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु महत्त्वपूर्ण कुरा हो । तर, नेपाली कांग्रेसमा बिपीको ‘लिगेसी’ नै अपमानित भइरहेको विडम्बनापूर्ण घडीमा आज हामी बिपीलाई स्मरण गर्दै स्मृति दिवस मनाइरहेका छौँ ।
आज सबैले नेपाली कांग्रेसका संस्थापक नेतृत्वमध्ये एक लोकतान्त्रिक समाजवादका प्रणेता, राष्ट्रिय मेलमिलापका सूत्रधार र आधुनिक नेपालको लोकतान्त्रिक चेतनाका शिल्पी बिपी कोइरालालाई सम्झिरहेका छन् । हरेक वर्ष हामीले यसैगरी बिपीलाई स्मृतिमा सजाउँदै आएका छौँ । तर, हरेक कांग्रेसजनले बुझ्नुपर्छ, स्मरण र अनुकरणबीच गहिरो भिन्नता हुन्छ । स्मरणले इतिहास बचाउँछ, अनुकरणले भविष्य बनाउँछ । नेपाली कांग्रेसले आज इतिहासलाई सम्मान त गरिरहेकै होला । तर, भविष्य निर्माण गर्ने बिपीको मूल चेतना कतै हराउँदै गएको अनुभूति भइरहेको छ भन्दा असङ्गत नठहर्ला ।
हरेक वर्षझैँ आज पनि उनका तस्बिरमा माल्यार्पण भइरहेका छन् । भाषण भइरहेका छन् । विचार गोष्ठी भइरहेका छन् । सामाजिक सञ्जाल बिपीका उद्धरणहरूले भरिएका छन् । तर के हामीले बिपीलाई हृदयदेखि नै सम्झिरहेका हौँ कि केवल उनलाई मनाइरहेका हौँ रु यी प्रश्न हाम्रासामु ठडिएको छ ।
एक समय थियो, जब नेपाली कांग्रेस नेपालको राजनीतिमा केवल एउटा दल थिएन, एउटा विचार, एउटा आन्दोलन र एउटा राष्ट्रिय आशा थियो । २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि २०७२ सालको संविधान निर्माणसम्म कांग्रेस नेपाली राजनीतिको मियो रह्यो । लोकतन्त्रका प्रत्येक निर्णायक मोडमा उसको भूमिका अग्रपङ्क्तिमा थियो । बिपी र उनको ‘लिगेसी’ बरकरार रहुञ्जेल कांग्रेस राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको हो । २००७ सालदेखि २०७२ सालसम्मको इतिहास पल्टाएर हेर्दा कांग्रेसकै अग्रणी भूमिका देखिन्छ ।
विडम्बना, त्यसपछिका वर्षमा भने कांग्रेस क्रमशः आफ्नै आन्तरिक असन्तुलनको बन्दी बन्दै गयो । केही हदसम्म प्रष्टीकरण, केही हदसम्म कम्यु्निस्टहरुसँगको आत्मघाती लसपस र केही हदसम्म नयाँ पुस्ताका भाइबहिनीले पुरानो पुस्ताका दाइ–दिदी, भाउजूप्रति देखाएको या त ‘अतिआशक्ति’ या ‘अतिउपेक्षा’ को सिकार बनेर कांग्रेस बिस्तारै बर्बादीको दलदलमा भासिँदै गयो । नातावाद, कृपावाद, फरियावाद, सुकिलो–मुकिलोवाद, धनवाद, बाहुवलीवाद आदि कांंग्रेसमा प्रभावी भएन भन्न सकिने अवस्था किमार्थ रहेन । फलतः यी वादहरूको थुप्रोमुनि बिपीको समाजवाद उठ्नै नसक्ने गरी थिचियो ।
परिणामतः आज कांग्रेस संसद्मा उपस्थित भएर पनि प्रभावहीन, सडकमा उत्रिएर पनि ऊर्जाहीन र जनताबीच पुगेर पनि विश्वसनीयताको सङ्कटसँग जुधिरहेको देखिन्छ । यसको मूल कारण विचारको अभावभन्दा पनि पार्टीभित्र एकताको अभाव हो । पार्टीभित्रै विश्वासको खडेरी परिरहेको बेला यो पार्टीले समग्र देशमा कसरी आशा र विश्वास जगाउन सक्थ्यो । बिपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन हेर्दा एउटा कुरा अत्यन्त स्पष्ट देखिन्छ– उनी व्यक्ति होइन, संस्था बनाउन चाहन्थे । उनी नेतृत्वलाई व्यक्तिको वरिपरि होइन, विचार र सहकार्यको जगमा उभ्याउन चाहन्थे । नेपाली कांग्रेसको इतिहासमा अनेक मतभेद थिए, वैचारिक विमर्श थिए, व्यक्तित्वहरूको प्रतिस्पर्धा पनि थियो । तर, बिपीले ती सबैलाई पार्टीभित्रै समेट्ने अद्भुत क्षमता प्रदर्शन गरे ।
सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत फरक स्वभाव, शैली र राजनीतिक दृष्टिका नेताहरूलाई एउटै धागोमा उनेर उनले कांग्रेसलाई राष्ट्रिय आन्दोलनको केन्द्र बनाए । किनकि, उनको सबैभन्दा ठूलो राजनीतिक शक्ति विरोधीलाई अलग्याउनु थिएन, जोड्नु थियो ।
भारतकै उदाहरण हेरौँ । महात्मा गान्धीले जवाहरलाल नेहरू, सरदार वल्लभभाई पटेल, राजेन्द्र प्रसाद, मौलाना आजादजस्ता भिन्न सोच भएका नेतालाई एउटै राष्ट्रिय अभियानमा बाँध्न सके । नेल्सन मण्डेलाले २७ वर्षको कारावासपछि पनि प्रतिशोध होइन, मेलमिलाप रोजे । अब्राहम लिङ्कनले आफ्ना कट्टर राजनीतिक प्रतिस्पर्धीलाई समेत मन्त्रिपरिषद्मा समेटेर ‘टिम अफ रिभाल्से’ बनाए । महान् नेतृत्वको परिचय आफ्नो पक्षलाई मात्र बलियो बनाउनु होइन, फरक धारलाई पनि साझा उद्देश्यमा जोड्नसक्नु हो । बिपीको राजनीतिक दर्शन पनि यही थियो, जसको आज अभाव देखिन्छ ।
आज नेपाली कांग्रेस किन विभाजित छ रु यसको उत्तर कुनै व्यक्तिमा खोजेर भेटिँदैन । समस्या संरचनागत पनि छ । संस्थापन र इतर पक्षबीचको दूरी सङ्गठनात्मक मात्र होइन, मनोवैज्ञानिक पनि हो । नेतृत्वको वरिपरि सीमित घेरा निर्माण हुने, निर्णय प्रक्रियामा फराकिलो सहभागिता नहुने, अनि अवसर र जिम्मेवारीको वितरण असन्तुलित हुने जुन प्रवृत्ति छ, सग्लो पार्टी बन्न नसक्नुको कारण यही हो ।
यस्तो गुटबन्दीकै कारण पार्टीमा एउटा गुटले सम्पूर्ण संस्थामाथि आफ्नो नियन्त्रण कायम गर्ने र अन्य धारलाई निर्णय प्रक्रियाबाटै क्रमशः बाहिर धकेल्ने प्रवृत्ति हुर्कायो । यो बहिष्करण, अर्थात् ‘मेजोरेट्रीयन डोमिनेशन’ या ‘इन्ट्रा पार्टी एक्सक्लुजन’ को अवस्थामा सङ्गठन बाहिरबाट होइन, भित्रैबाट कमजोर हुन्छ । यसको परिणाम, निर्वाचनमा हारमात्र हुँदैन, कार्यकर्ताको मन पनि टुट्न थाल्छ । यस्तो अवस्थामा बिपीले देखाएको ‘मल्टिपल इनक्ल्युजन’ को बाटोले सही परिणाम पो दिन सक्छ कि भन्नेतर्फ पार्टी नेतृत्व सचेत हुनु जरुरी छ ।
अब यसको उपचार के हो त रु लोकतान्त्रिक दलको औषधि लोकतन्त्र नै हो । संवाद, सहमति, शक्ति बाँडफाँट, संस्थागत निर्णय प्रक्रिया, साझा जिम्मेवारी र पारस्परिक सम्मानबिना कुनै पनि लोकतान्त्रिक दल दीर्घकालीन रूपमा बलियो रहन सक्दैन । सङ्गठनमा सबैलाई समेट्ने क्षमता नै नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो । यही सन्दर्भमा आज कांग्रेसले आफैँसँग एउटा गम्भीर प्रश्न गर्नुपर्छ– ‘हामी आगामी महाधिवेशनको गणित मिलाइरहेका छौँ कि पार्टीको भविष्य बचाइरहेका छौँ रु’
पक्कै पनि महाधिवेशन लोकतान्त्रिक अभ्यास हो । प्रतिस्पर्धा पनि आवश्यक हुन्छ । तर जब महाधिवेशन नै अन्तिम लक्ष्य बन्छ र पार्टी केवल शक्ति प्राप्तिको माध्यममा सीमित हुन्छ, त्यहाँ विचार हराउँछ, विश्वास टुट्छ र सङ्गठन बिस्तारै खोक्रो बन्छ । आजको आवश्यकता विरोधी गुटलाई हराउने होइन, कांग्रेस जिताउने हो ।
बिपीले आफ्नो जीवनको उत्तरार्द्धमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै टेबलमा बसेर पार्टी चलाउन आग्रह गरेका थिए । उनी व्यक्तिको प्रभुत्वभन्दा सामूहिक नेतृत्वमा विश्वास गर्थे । उनको बुझाइमा लोकतन्त्रको संस्कार पार्टीभित्रै अभ्यास नभएसम्म देशमा लोकतन्त्र बलियो बन्न सक्दैन । दुर्भाग्यवश, कांग्रेसले त्यो सन्देशलाई आत्मसात् गर्न सकेन ।
गणेशमान, किसुनजी र गिरिजाबाबुबीचको दूरीले पार्टीलाई कमजोर बनायो । पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वले ऐतिहासिक उपलब्धिहरू दिलाए पनि सङ्गठनभित्र एकल नेतृत्वको प्रभाव क्रमशः बलियो बन्दै गयो । त्यसपछि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यबीचको असमझदारीले अर्को पुस्तालाई विभाजित बनायो । समय फेरियो । पात्र फेरिए, तर प्रवृत्ति फेरिएन ।
आज पनि पार्टीले सामूहिक नेतृत्व खोजिरहेको छ । शेरबहादुर देउवा, डा. शेखर कोइराला र गगनकुमार थापाबीच सहकार्य स्थापित होस् भन्ने चाहना कार्यकर्तादेखि शुभेच्छुकसम्मको छ । डा. शेखर कोइरालाले सार्वजनिक रूपमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा पटक पटक व्यक्त गर्दै आएका छन् । बिपीको ‘लिगेसी’ बोकेको ‘उचित पात्र’ को दाबी गरी आफूलाई प्रस्तुत गर्दै आएका शेखरले पनि बिपीको सोचअनुसारको रणनीति अख्तियार गर्न नसक्नु उदेकलाग्दो छ ।
आमकांग्रेसजनले अपेक्षा गरेअनुसार पार्टीलाई सामूहिक नेतृत्वमा सञ्चालन गर्ने सोचअनुरूप उनीबाट पनि सामूहिक बैठकको आयोजना गरेर आवश्यक निकास पहिल्याउन पहल नहुनु उदेकलाग्दो छ ।
नेतृत्वका विभिन्न धारबीचको विश्वासको सङ्कट अझै हट्न सकेको देखिँदैन । राजनीतिक मतभेद स्वाभाविक हुन् । तर मतभेद स्थायी बनेपछि सङ्गठनको ऊर्जा क्षीण हुँदै जान्छ । यही अवस्थाले कांग्रेसलाई चुनावी प्रतिस्पर्धामा कमजोरमात्र बनाएन, राष्ट्रिय राजनीतिको निर्णायक केन्द्रबाट पनि क्रमशः पर धकेलिरहेको छ ।
इतिहासले एउटा कुरा सिकाउँछ– दलहरू विपक्षीको आक्रमणले भन्दा आफ्नै आन्तरिक विभाजनले बढी कमजोर हुन्छन् । भारतीय राष्ट्रिय कांग्रेसले नेहरूपछि इन्दिरा गान्धीको समयदेखि बारम्बार विभाजनको मूल्य चुकायो । बेलायती लेबर पार्टी लामो समय आन्तरिक ध्रुवीकरणले सत्ताबाहिर बस्न बाध्य भयो ।
जापानको लिबरल डेमोक्रेटिक पार्टीले भने फरक समूहहरूलाई एउटै संस्थागत संरचनाभित्र व्यवस्थापन गर्दै आफ्नो दीर्घकालीन अस्तित्व जोगायो । इतिहासका यी अनुभवबाट के बुझ्न सकिन्छ भने, एकता भनेको मतभेदको अन्त्य होइन, मतभेदलाई संस्थागत रूपमा व्यवस्थापन गर्ने क्षमता हो ।
आज बिपी जीवित भएको भए सायद उनी कुनै गुटको बैठकमा बस्ने थिएनन् । सबै गुटलाई एउटै बैठकमा बसाल्ने थिए । उनी कसैलाई हराउन होइन, सबैलाई जिताउन खोज्ने थिए । उनी कसैको पक्षमा होइन, कांग्रेसको पक्षमा उभिने थिए । त्यसैले बिपी जयन्तीको सबैभन्दा ठूलो अर्थ कर्मकाण्ड होइन, आत्मशुद्धि हो । माल्यार्पण होइन, मनको मैलो पखाल्ने दिन हो । भाषण होइन, व्यवहार सुधार्ने दिन हो ।
नेहरूले एकपटक भनेका थिए, ‘नेतासँग शासन गर्ने शक्तिमात्र होइन, सबैलाई जोड्ने साहस पनि हुनुपर्छ ।’
आज बिपी स्मृति दिवस मनाउनुको सबैभन्दा ठूलो सान्दर्भिकता माल्यार्पणमा होइन, आत्मपरीक्षणमा छ । यदि कांग्रेस साँच्चै बिपीको उत्तराधिकारी हो भने उसले सबैभन्दा पहिले बिपीको राजनीतिक संस्कारको उत्तराधिकारी बन्नुपर्छ । नेतृत्वले उदारता देखाउनु पर्छ । इतर पक्षले पनि आलोचनामा मात्रै सीमित नभई समाधानको साझेदार बन्नुपर्छ । पुराना घाउ कोट्याएर भविष्य निर्माण हुँदैन । मनको मैलो नपखाली सङ्गठनको घर सफा हुँदैन ।
बिपीले भनेझैँ, लोकतन्त्र भनेको सहिष्णुता, विश्वास र सहकार्यको संस्कृति हो । कांग्रेसले यही संस्कृति पुनर्जीवित गर्नसक्यो भने मात्र उसले आफ्नो शक्ति पुनः प्राप्त गर्नेछ । नेपालको लोकतन्त्रलाई पनि नयाँ ऊर्जा दिनेछ । अब हठ त्यागौँ, अहङ्कार विसर्जन गरौँ, संवादको ढोका खोलौँ र कांग्रेसलाई फेरि एक बनाऔँ । विचार विभाजित भएर बाँच्न सक्दैन । इतिहास गुटमा लेखिँदैन । बिपीको कांग्रेस कुनै एक नेताको होइन, सबै कांग्रेसजनको साझा घर हो । त्यो घर फेरि उज्यालो बनाउन सबैले आफ्नो–आफ्नो ज्योति लिएर आउनुपर्छ । यही बिपीप्रतिको सच्चा सम्मान हुनेछ,
