भ्रष्टाचार देखिए प्रमाणसहित सिधै मन्त्रालयमा जानकारी गराउन आग्रह -अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको प्राथमिकता व्यक्ति नभई कामको परिणाम र सुशासन रहेको बताए।उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो होइन, नतिजा आउनुपर्छ। विधि र प्रक्रियाअनुसार काम गर्नुहोस्।”अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहले आफूलाई बारम्बार “विधिअनुसार काम गर, नतिजा देखाऊ” भन्ने स्पष्ट निर्देशन दिएको खुलासा गरेका छन्।
अर्थमन्त्री वाग्लेले मन्त्रालयमा पनि यही नीति लागू गरिएको बताउँदै सरुवा, बढुवा वा नियुक्तिमा कुनै पनि राजनीतिक दबाब, सोर्सफोर्स वा सिफारिस स्वीकार नगर्ने स्पष्ट पारे।उनका अनुसार अब नेता, शक्ति केन्द्र वा आफन्तको प्रभावमा निर्णय हुने युग अन्त्य हुनेछ। “यदि कसैले राजनीतिक दबाब दिन खोज्छ भने त्यसको उल्टै नकारात्मक परिणाम हुनेछ,” उनले चेतावनी दिए।
राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति उदाहरण दिँदै उनले लबिङ नगरी योग्यताका आधारमा नियुक्ति गरिएको दाबी गरे।राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन आफू देशभरका भन्सार र कर कार्यालयको स्थलगत अनुगमनमा जाने जानकारी दिँदै वाग्लेले कर्मचारीलाई कुनै पनि अनियमितता वा भ्रष्टाचार देखिए प्रमाणसहित सिधै मन्त्रालयमा जानकारी गराउन आग्रह गरे।उनले सरकारको मुख्य प्राथमिकता व्यक्ति होइन, परिणाम, पारदर्शिता र सुशासन भएको दोहोर्याउँदै प्रणाली सुधारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
