एकता साहस सहयोगको भावना विपद्को उज्यालो पक्ष
भारतका समाजसेवी सहज दुग्गलदेखि नेपालकी हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी, विद्यालयका प्रिन्सिपल राजेन्द्र दवाडी, ७८ वर्षीय धनपति भण्डारी र भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदसम्मका यी पाँच व्यक्तिका काम फरक छन्। तर उनीहरूलाई जोड्ने कुरा एउटै छ—संकटको समयमा मानवता र जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनु।भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाइरहेका बेला सडक र पुल भत्किए, सयौँ परिवार आफन्तको खोजीमा छटपटाइरहे। प्राकृतिक विपद्को त्यो कठिन समयमा धेरै व्यक्ति र संस्थाले सहयोग गरे। तर केही व्यक्तिको पहल भने उद्धार, राहत र पुनर्स्थापनाको अभियानमा विशेष रूपमा चर्चामा आयो।
भारतका समाजसेवी तथा ‘हर मैदान फतेह सोसाइटी’का संस्थापक सहज दुग्गल नेपालका बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर नेपालतर्फ आएका थिए। तर नेपाल–भारत सीमामा कानुनी प्रक्रिया र आवश्यक प्रोटोकलका कारण उनले ल्याएको राहत सामग्री नेपाल भित्र्याउन रोक लाग्यो।
त्यसपछि पनि उनले सहयोग अभियान रोकेनन्। नेपाल ल्याउन नसकिएको सामग्रीको सट्टा उनले आफ्नै खर्चमा नेपालमै राहत सामग्री र खाद्यान्न खरिद गरे र बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितलाई वितरण गरे।
यस घटनाले विपद्को समयमा सहयोग गर्ने इच्छालाई अवरोधले रोक्न नसक्ने सन्देश दिएको समर्थकहरूको भनाइ छ। यद्यपि, सामाजिक सञ्जालमा उनको पहललाई लिएर मिश्रित प्रतिक्रिया पनि आएको थियो। केहीले कानुनी प्रक्रिया पालना आवश्यक रहेको बताएका थिए भने अन्यले संकटको समयमा सहयोग गर्न आएका व्यक्तिलाई सहज वातावरण बनाउनुपर्ने धारणा राखेका थिए।
त्यस्तै, सडक र पुल बगेपछि भोटेकोशी तथा रसुवाका केही क्षेत्रसँगको सम्पर्क टुटेको अवस्थामा हेलिकप्टर उद्धारको महत्वपूर्ण माध्यम बनेको थियो। यही क्रममा नेपालकी महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी जोखिमपूर्ण उडानमा निरन्तर खटिइन्।
बाढी आएको सुरुवाती दिनहरूमा उनले १०० भन्दा बढी उद्धार तथा राहत उडान गरेको विवरण सार्वजनिक भएको छ। साँघुरा खोँच, कठिन भूगोल र प्रतिकूल मौसमबीच उनले बाढीपीडित तथा घाइतेलाई सुरक्षित स्थानमा पुर्याउन भूमिका खेलेकी थिइन्। टिमुरे क्षेत्रबाट मात्रै उनको टोलीले २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
उद्धारसँगै दुर्गम क्षेत्रमा खाद्यान्न र आकस्मिक औषधि पुर्याउने काममा पनि उनको टोली सक्रिय थियो। उनको साहस र निरन्तर खटाइले नेपालबाहिर समेत चर्चा पायो। तर प्रिया अधिकारीले आफ्नो भूमिकालाई व्यक्तिगत बहादुरीभन्दा संकटमा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने जिम्मेवारीका रूपमा प्रस्तुत गरेकी छन्।
उता, विद्यालयमा पढिरहेका सयौँ विद्यार्थीको जीवन बचाउने निर्णय गरेका प्रिन्सिपल राजेन्द्र दवाडीको भूमिका पनि विपद्को समयमा उदाहरणीय बनेको छ।
बाढीको सूचना प्राप्त हुँदा विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको थियो। विद्यालयसम्म बाढी आइपुग्न करिब १४ मिनेट मात्रै बाँकी रहेको जानकारी पाएपछि दवाडीले तत्काल विद्यालय खाली गराउने निर्णय लिए। उनले घण्टी बजाएर कक्षा खाली गराए र शिक्षकहरूको सहयोगमा विद्यार्थीलाई अग्लो तथा सुरक्षित स्थानतर्फ पठाए। सडकमा रहेका स्कुल बसलाई समेत सुरक्षित स्थानतर्फ फर्किन निर्देशन दिइयो।
यसरी विद्यालयमा रहेका र बाटोमा रहेका गरी करिब १ हजार ६ सय ४३ विद्यार्थीलाई सुरक्षित राख्न सफल भएको बताइएको छ। विद्यार्थी र शिक्षकहरू सुरक्षित स्थानमा पुगेको केही समयमै हिलो, गेग्रान र ढुंगासहितको भीषण बाढीले विद्यालय भवन बगाएको थियो।
दवाडी आफैं पनि अन्तिमतिर विद्यालयबाट बाहिरिएका थिए। विद्यालय भवन गुमे पनि उनको जिम्मेवारी भने रोकिएको छैन। अहिले उनी विद्यालयविहीन बनेका विद्यार्थीको पढाइ पुनः सुरु गर्न सुरक्षित स्थानमा विद्यालय सञ्चालन तथा पुनर्स्थापनाका लागि पहल गरिरहेका छन्।
विपद्को समयमा सहयोग गर्न उमेरले नछेक्ने अर्को उदाहरण ७८ वर्षीय धनपति भण्डारी बनेका छन्। भदौ १४ गते सिनामंगलबाट सिंहदरबार पुगेका भण्डारीको उद्देश्य बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नु थियो।
सिंहदरबार पुगेपछि आवश्यक समन्वयमार्फत उनलाई अर्थ मन्त्रालय पुर्याइएको थियो। त्यहाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई भेटेर सहयोगका लागि धन्यवाद दिएका थिए।
भण्डारीले आफ्नो व्यक्तिगत खाताबाट ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन्। यो सरकारलाई उनले गरेको तेस्रो सहयोग भएको बताइएको छ। संकटमा परेका नागरिकलाई सहयोग गर्न आफ्नै चेक बोकेर सिंहदरबार पुगेका उनको कदम रकमभन्दा ठूलो मानवीय भावनाको उदाहरणका रूपमा चर्चामा आएको छ।
यसैबीच, भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले पनि नेपालका बाढीपीडितका लागि राहत सहयोग जुटाएका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको घोषणा गरेपछि राहत सामग्रीसहित नेपाल आएका थिए।
काठमाडौं आएपछि औपचारिक भेटघाटमै सीमित नरही उनले नुवाकोट र त्रिशूली आसपासका प्रभावित क्षेत्रको स्थलगत अवस्थासमेत अवलोकन गरेका थिए। उनको संस्थामार्फत भारतबाट ल्याइएका २ हजारभन्दा बढी कम्बल, खाद्यान्न, लत्ताकपडा तथा महिलाका लागि आवश्यक हाइजिन सामग्री प्रभावित परिवारमा वितरण गरिएको बताइएको छ।सुदको सहयोग तत्कालीन राहतमा मात्रै सीमित रहने छैन। घरबारविहीन बनेका परिवारका लागि स्थायी घर निर्माण गर्ने उद्देश्यले ‘एक घर बनाउने सङ्कल्प’ अभियान अघि बढाउने घोषणा उनले गरेका छन्। यसका लागि लायन्स क्लब र खाल्सा एडसँग सहकार्य गर्दै प्रभावित क्षेत्र पहिचान गर्ने काम भइरहेको बताइएको छ।नेपाल भ्रमणका क्रममा उनको पहललाई लिएर केही आलोचनासमेत भएको थियो। भ्रमण प्रचारका लागि गरिएको भन्ने प्रश्न उठेपछि सुदले आलोचकलाई प्रभावित क्षेत्रमा आएर वास्तविक अवस्था हेर्न आग्रह गरेका थिए।भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्ले नेपालका धेरै बस्ती, सडक, पुल, विद्यालय तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। कैयौँ परिवारले आफन्त गुमाएका छन् भने धेरै नागरिक विस्थापित बनेका छन्।तर यही पीडाको बीचमा देखिएका सहज दुग्गल, प्रिया अधिकारी, राजेन्द्र दवाडी, धनपति भण्डारी र सोनु सुदका पहलले विपद्को अँध्यारोमा आशाको उज्यालो पनि देखाएको छ।
कसैले सीमामा रोकिएको राहतको विकल्प खोजे, कसैले जोखिमपूर्ण आकाशमा उडेर जीवन बचाए, कसैले केही मिनेटभित्र निर्णय गरेर सयौँ विद्यार्थी सुरक्षित बनाए, कसैले आफ्नो व्यक्तिगत आम्दानीबाट ठूलो रकम सहयोग गरे भने कसैले राहतसँगै घर पुनर्निर्माणको प्रतिबद्धता जनाए।विपद् व्यवस्थापनमा सरकार र सुरक्षा संयन्त्रको भूमिका महत्वपूर्ण भए पनि नागरिक, समाजसेवी र निजी क्षेत्रबाट हुने यस्ता पहलले प्रभावित समुदायलाई थप बल पुग्ने देखिन्छ। बाढीले भौतिक संरचना भत्काए पनि कठिन समयमै देखिएको मानवीय एकता, साहस र सहयोगको भावना भने यो विपद्को उज्यालो पक्ष बनेको छ।
