व्यवस्था परिवर्तनका लागि लडेका नागरिक उजुरी र मुद्दाबाट नडराउने -ध्रुवराज राई
बाँदरको आतंकका कारण किसानहरू चरम मारमा परेको भन्दै समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन्।संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद ध्रुवराज राईले बाँदरले बालीनाली सखाप पारेको र किसानहरू आर्थिक तथा मानसिक रूपमा पीडित बनेको बताए। उनका अनुसार गाउँगाउँमा मकैबारी, अलैँची घारी र अन्य खेतीबाली बाँदरले नष्ट गर्दा किसानको जीवनयापन नै संकटमा परेको छ।६०० वटा बाँदर मारेको आरोपबारे सोधिएको प्रश्नमा राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले सहयोग गरेको स्वीकार गरेका छन्। उनले भने, “मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ। ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ।”सांसद राईले पशु अधिकारकर्मीहरूको विरोधप्रति असन्तुष्टि जनाउँदै वास्तविक समस्या गाउँका किसानले भोगिरहेको बताए। उनका अनुसार माइतीघरमा बसेर आन्दोलन गर्नेहरूले किसानको मकैबारी र अलैँची घारीमा पुगेर वास्तविक पीडा बुझ्नुपर्छ।
उनले लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले क्षणभरमै नष्ट गर्ने गरेको भन्दै किसानहरू रोइरहेको अवस्थामा विदेशी कानुन, एनजीओ र आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिन नहुने तर्क गरे।राईले यो विषयमा आफू कानुनी कारबाही वा जेल जानसमेत नडराउने चेतावनी दिएका छन्। व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरी र मुद्दाबाट नडराउने उनको भनाइ छ।बाँदर नियन्त्रणका नाममा सांसद राईले दिएको यो अभिव्यक्तिले किसानको पीडा, वन्यजन्तु संरक्षण, पशु अधिकार र कानुनी व्यवस्थाबीचको बहसलाई झनै चर्काउने देखिएको छ।
