समाचार

डीडीसीमा १२ करोड भन्दा बढीको अनियमितता किसानको दूधको भुक्तानीदेखि कर्मचारीको भूमिकासम्म उठ्यो प्रश्न ?

Spread the love


काठमाडौं। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि संस्थानभित्रको आर्थिक पारदर्शिता र व्यवस्थापकीय सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानअनुसार संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित कर्मचारीहरू पक्राउ परेका छन्। पछिल्लो विवरणअनुसार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई समेत पक्राउ गरिएको छ। यस प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको समाचार सार्वजनिक भएको छ।
सीआईबीको अनुसन्धानमा किसानले बिक्री गरेको दूधको फ्याट र एसएनएफको मात्रा कम देखाएर किसानलाई कम रकम भुक्तानी गर्ने तर संस्थानको अभिलेखमा वास्तविक विवरण राख्ने गरेको आशंका सार्वजनिक भएको छ। यसरी किसानलाई दिनुपर्ने रकम र संस्थानको हिसाबबीच फरक पारेर आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ। यो कारोबारमा केही दुग्ध सहकारी तथा चिस्यान केन्द्रको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ।