समाचार

अनुसन्धान गरिरहेको विषयलाई नै अन्तिम रूपमा गैरकानुनी सम्पत्ति भएको निष्कर्ष मान्न नमिल्ने हाे र?

Spread the love

प्रहरीले घरमा सूचना टाँसेपछि गिरीले भिडियो सन्देश सार्वजनिक गर्दै आफू स्वास्थ्य उपचारका लागि बाहिर रहेको र १५ गतेभित्र नेपाल फर्किएर बयान दिने बताएका छन्। उनले भिडियोमार्फत प्रहरी तथा स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गर्दै उनीहरूकै सम्पत्तिसमेत छानबिन हुनुपर्ने माग गरेका छन्।४५ करोडको सम्पत्तिको स्रोत खोज्दै प्रहरी आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोपसँग जोडिएको विषयमा प्रहरीले गिरीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिरहेको छ।विवादास्पद पृष्ठभूमिका अभिषेक गिरी र उनको परिवारको नाममा रहेको करिब ४५ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खोज्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बयानका लागि उपस्थित नभएपछि जिल्ला प्रहरी कार्यालय मोरङले गिरीको घरमै सूचना टाँसेको छ।

सोही क्रममा आवश्यक कागजात तथा प्रमाणसहित बयानका लागि उपस्थित हुन भन्दै प्रहरीले कात्तिक १९ गते हुलाकमार्फत पत्र पठाएको थियो। तर, पत्र बुझ्ने व्यक्ति नभेटिएपछि र सात दिनको समयसीमाभित्र पनि गिरी सम्पर्कमा नआएपछि प्रहरीले शुक्रबार उनको घरको भित्तामा सूचना टाँसेको हो।मोरङका प्रहरी प्रमुख कोवित कटुवालका अनुसार गिरी र उनको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिमाथि अनुसन्धान भइरहेको छ।उनले करिब आधा अर्ब रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको बताउँदै यसको वास्तविकता गिरीको बयान र उनले पेस गर्ने प्रमाणका आधारमा न्यायिक निरुपण हुने स्पष्ट पारेका छन्।अनुसन्धानमा संलग्न अन्य अधिकारीका अनुसार करिब ४५ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खोजी भइरहेको छ।श्रीमतीको नाममा नौ ठाउँमा जग्गा
प्रहरी अनुसन्धानका क्रममा गिरीकी श्रीमती सोनु आचार्यको नाममा विभिन्न स्थानमा जग्गा तथा घरजग्गा जोडिएको विवरण सार्वजनिक भएको छ।मालपोत कार्यालयको अभिलेखअनुसार २०८० देखि २०८२ सालसम्मको अवधिमा आचार्यको नाममा विभिन्न स्थानमा जग्गा दर्ता तथा नामसारी भएको देखिन्छ।काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा रहेको २१७.०१ वर्गमिटर क्षेत्रफलको घरजग्गा २०८२ कात्तिक २८ गते राजीनामा लिखत पारित गरी आचार्यको नाममा दर्ता गरिएको छ।त्यस्तै, मोरङको कटहरी गाउँपालिका–४ मा रहेको १ हजार ८२२.३७ वर्गमिटर जग्गा २०८० मंसिर २५ गते उनको नाममा दर्ता भएको देखिन्छ।मोरङकै बबियाविर्तामा रहेको ४ हजार ६५५.५२ वर्गमिटर जग्गा २०८२ असोज २७ गते आचार्यको नाममा नामसारी गरिएको अभिलेखमा उल्लेख छ। सोही क्षेत्रमा रहेका अन्य कित्ता नम्बरका जग्गासमेत उनको नाममा दर्ता छन्।यीमध्ये केही जग्गा बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेपछि तेस्रो पक्षले सकार गरेको र दाखेल खारेज प्रक्रियामार्फत आचार्यको नाममा आएको विवरणमा उल्लेख छ।

त्यस्तै, विराटनगर–६ र धनकुटा नगरपालिका–५ मा समेत उनको नाममा जग्गा रहेको अभिलेखमा देखिन्छ। यी सम्पत्ति खरिद गर्न प्रयोग गरिएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।प्रहरीको सूचना टाँसेपछि गिरीको आक्रोश
घरमा सूचना टाँस भएपछि सार्वजनिक भिडियोमा गिरीले प्रहरी र जिल्ला प्रशासन कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।उनले आफू चुप लागेर नबस्ने बताउँदै प्रहरी तथा प्रशासनका अधिकारीहरूको सम्पत्तिसमेत छानबिन हुनुपर्ने माग गरेका छन्। प्रशासनमा रहेको पद र शक्तिको दुरुपयोग नगर्न चेतावनी दिँदै उनले आफूविरुद्ध चर्चामा आउनका लागि स्टन्टबाजी र मिडियाबाजी गरिएको आरोप लगाएका छन्।

मोरङमा हुने तस्करी तथा आपराधिक घटनामाथि प्रभावकारी नियन्त्रण गर्न नसकेको प्रशासनले आफूलाई मात्र लक्षित गरेको उनको दाबी छ।गिरीले प्रहरीको अनुसन्धानलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आफूविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरणको आरोप अस्वीकार गरेका छन्।बैंक ऋण र वैध कारोबारबाट सम्पत्ति जोडेको दाबी गिरीले आफ्नो सम्पत्तिको स्रोत वैध रहेको दाबी गरेका छन्। बैंकबाट लिएको ऋण, व्यवसायबाट भएको आम्दानी तथा कर तिरेर गरिएको कारोबारलाई प्रहरीले बेवास्ता गरेको उनको आरोप छ।बैंक खातामा रकमको कारोबार हुनु नै गैरकानुनी गतिविधिको प्रमाण नहुने जिकिर गर्दै उनले आफूसँग सम्पत्तिको स्रोत पुष्टि गर्ने कागजात सुरक्षित रहेको बताएका छन्।

यसअघि पनि आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको र विशेष अदालत, सर्वोच्च अदालत तथा पूर्ण इजलासबाट सफाइ पाइसकेको उनको दाबी छ।१५ गतेभित्र नेपाल फर्किएर बयान दिने दाबी प्रहरीले आफूलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत नभई सोझै प्रहरीमार्फत अनुसन्धानको दायरामा ल्याउन खोजेको गिरीको आरोप छ।आफू भागेर नहिँडेको दाबी गर्दै उनले घरायसी तथा स्वास्थ्य उपचारसम्बन्धी कामका लागि बाहिर रहेको बताएका छन्। १५ गतेभित्र नेपाल फर्किएर आवश्यक प्रमाणसहित बयान दिने उनको भनाइ छ।यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा आफूलाई फसाउन खोजिएको र घरबाट बरामद गरिएका नगद तथा सुनचाँदी फिर्ता नगरिएको उनको आरोप छ। त्यतिबेला ४० देखि ४५ दिन हिरासतमा राखिए पनि आरोप प्रमाणित हुन नसकेको उनले दाबी गरेका छन्।यद्यपि, गिरीको सम्पत्तिको वास्तविक स्रोत के हो भन्ने विषय प्रहरी अनुसन्धान र उनले पेस गर्ने प्रमाणबाट स्पष्ट हुन बाँकी छ। हालसम्म प्रहरीले अनुसन्धान गरिरहेको विषयलाई नै अन्तिम रूपमा गैरकानुनी सम्पत्ति भएको निष्कर्ष मान्न मिल्दैन।