समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

Spread the love

टिकारम भन्डारि

काठमाडौं। तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा, आस्था र भक्तिभावका साथ मनाइएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन भएको छ।चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालुहरू नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा भेला भएका थिए। उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए।

छठ पर्वको अवसरमा व्रतालुहरूले बाँसको ढाकी र नाङ्लोमा केरा, नरिवल, उखु, स्याउ, सुन्तला, ठेकुवा लगायतका प्रसाद सजाएर सूर्यदेव र छठी माताको पूजा गरेका थिए। भक्तजनहरू बिहानैदेखि पूजास्थलमा भेला भई परम्परागत छठ गीत गाउँदै भक्तिपूर्ण वातावरणमा पूजाआराधनामा सहभागी भएका थिए।

यसअघि छठ पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत समापन गरेका हुन्।

छठ पर्वले धार्मिक आस्थासँगै प्रकृति संरक्षण, स्वच्छता, अनुशासन, सामाजिक सद्भाव र आपसी एकताको सन्देश दिने विश्वास गरिन्छ। पछिल्लो समय तराई–मधेसमा मात्र सीमित नरही काठमाडौं, चितवनलगायत देशका विभिन्न जिल्लामा समेत छठ पर्व उत्साहपूर्वक मनाउन थालिएको छ।

सांस्कृतिक विविधताबीच एकता र सहअस्तित्वको सन्देश बोकेको छठ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाएको छ।