भ्रमण दुई देशका सत्तारुढ दलबीचको आपसी निमन्त्रणा अनुसार हुने -प्रवक्ता जगदीश खरेल
सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै जगदीश खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्ने पार्टीको धारणा रहेको बताए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने कदममा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता जगदीश खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने बताएका छन्।सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने उनको भनाइ छ। त्यसैले यस्ता विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उनले स्पष्ट पारे।‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ खरेलले भने।
गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले जानकारी दिए। ती विषयमा प्रधानमन्त्रीको धारणा र सरकारले गरिरहेको कामबारे पार्टीले प्रतीक्षा गरिरहेको उनको भनाइ छ।पार्टी सभापति, महामन्त्रीसहित सम्पूर्ण नेतृत्व सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको पनि खरेलले बताए।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा निरन्तरता दिने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे। यो सरकारको विवेक र निर्णयमा निर्भर रहने विषय भएको उनको भनाइ छ।उक्त विषय अदालतसम्म पुगेको र केही प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले बताए।यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उक्त टोली चीन जान लागेको प्रवक्ता खरेलले जानकारी दिए।चीनको सत्तारुढ दलले रास्वपालाई निमन्त्रणा गरेको उल्लेख गर्दै उनले भ्रमण दुई देशका सत्तारुढ दलबीचको आपसी निमन्त्रणाअनुसार हुन लागेको बताए।
