आस्था विश्वास र शुद्धताको पर्व छठ
सुरेस कुमार थपलिया
काठमाडौं। तराई–मधेससहित देशका विभिन्न भागमा श्रद्धा, आस्था र भक्तिभावका साथ मनाइने छठ पर्व सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी मिथिलाञ्चल क्षेत्रमा विशेष महत्वका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं, चितवन, पोखरा लगायत देशका विभिन्न सहरमा समेत व्यापक रूपमा मनाउन थालिएको छ।
छठ पर्वमा सूर्यदेवको उपासना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरिन्छ। यस पर्वमा व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ पूजा गर्ने परम्परा छ। छठ पर्व चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइन्छ।
पर्वको पहिलो दिन नहाय–खाय विधिबाट सुरु हुन्छ।
दोस्रो दिन खरना मनाइन्छ, जसमा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गर्छन्। तेस्रो दिन अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयमा उभिएर अर्घ्य दिइन्छ। चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ।
छठ पर्वमा ठेकुवा, भुसुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला लगायतका फलफूल तथा प्रसाद बाँसको ढाकी र नाङ्लोमा सजाएर सूर्यदेवलाई अर्पण गर्ने चलन छ। व्रतालुहरू नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा भेला भएर सामूहिक रूपमा पूजा गर्छन्।छठ पर्वमा ठेकुवा, भुसुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला लगायतका फलफूल तथा प्रसाद बाँसको ढाकी र नाङ्लोमा सजाएर सूर्यदेवलाई अर्पण गर्ने चलन छ।
व्रतालुहरू नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा भेला भएर सामूहिक रूपमा पूजा गर्छन्।
छठ पर्वको धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक महत्व पनि उत्तिकै रहेको छ। यस पर्वले प्रकृति, जलस्रोत र सूर्यप्रतिको सम्मान गर्न प्रेरित गर्छ। सूर्यलाई पृथ्वीमा जीवनको प्रमुख आधार मान्दै मानव जीवन, वनस्पति र सम्पूर्ण प्राणी जगत्को अस्तित्वसँग जोडेर पूजा गरिन्छ।
त्यस्तै, छठ पर्वले जातीय, भाषिक तथा सांस्कृतिक विविधताबीच सामाजिक सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने काम गरेको छ। पछिल्लो समय पहाडी तथा हिमाली समुदायका मानिसले समेत छठ पर्व मनाउन थालेपछि यो पर्व राष्ट्रिय एकता र सांस्कृतिक सहअस्तित्वको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।
छठ केवल धार्मिक अनुष्ठान मात्र नभई श्रद्धा, अनुशासन, पवित्रता, प्रकृतिप्रेम र सामाजिक एकताको सन्देश दिने नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित छ।
