राखिएको अवस्थाबारे उठेको विवादले पाकिस्तानको राजनीतिक तनावलाई थप चर्चामा
पाकिस्तानका जेलमा रहेका इमरान खान ले आफ्ना वकिल सलमान सफदरमार्फत सार्वजनिक गरिएको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य बिग्रँदै गएको उल्लेख गरेका छन्। इमरान खानले आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उचित उपचारको व्यवस्था गर्न अपिल गरेका छन्। उनले चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको चेतावनी दिएको दाबी गर्दै अहिलेको अवस्था जारी रहे आफू जीवित बाहिर निस्कन नसक्ने बताएका छन्।७४ वर्षको उमेरमा निरन्तर यस्तो अवस्थामा रहँदा म यस्तो बिन्दुमा पुग्दै छु, जहाँबाट सायद जीवित फर्किन सक्दिनँ,’ उनले पत्रमा लेखेका छन्।खानका अनुसार चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको बताएका छन्। उनको मुटुमा समेत क्षति पुगिसकेको दाबी गरिएको छ।उनको स्वास्थ्य अवस्थाबारे परिवारले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। परिवारका सदस्यहरूले जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगर्दा उनको दाहिने आँखाको अधिकांश दृष्टि गुमेको दाबी गरेका छन्।
खानले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार बुशराको आँखाको रेटिना गत अप्रिलमा छुट्टिएको थियो र गोप्य रूपमा शल्यक्रिया गरिएको थियो। थप शल्यक्रिया नगरिए उनले दृष्टि गुमाउन सक्ने खानको भनाइ छ।खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्तवासमा राखिएको र परिवारका सदस्यसँग भेटघाट गर्न तथा पुस्तक र टेलिभिजनको पहुँचसमेत नदिइएको आरोप लगाएका छन्। यस्तो अवस्थाले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनको भनाइ छ। पछिल्लो एक वर्षमा वकिलहरूसँग जम्मा चार पटक मात्रै भेट्न पाएको पनि उनले दाबी गरेका छन्।मैले आफ्नो निर्दोषिता प्रमाणित गर्न असम्भवजस्ता कानुनी लडाइँहरू लडेको छु र अझै हार मानेको छैन। तर, यो प्रणालीले मलाई न्याय दिन छाडिसकेको छ,’ उनले पत्रमा लेखेका छन्। उनले जीवित रहे मात्रै आफ्नो निर्दोषिता प्रमाणित गर्न सक्ने बताएका छन्।
तर, पाकिस्तानी अधिकारीहरूले भने खानका आरोप अस्वीकार गरेका छन्। संसदीय मामिलामन्त्री तारिक फजल चौधरीले उनलाई जेलमा खानपानसहित आवश्यक सबै सुविधा उपलब्ध गराइएको दाबी गरेका छन्। उनका अनुसार खान पाकिस्तानका सबैभन्दा सुविधासम्पन्न कैदीमध्ये एक हुन्।सरकारी अधिकारीहरूले एक साताअघि आँखामा औषधि लगाउने उपचारका लागि खानलाई सरकारी अस्पताल लगिएको र चिकित्सकहरूले उनको अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको बताएका छन्।पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका इमरान खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री थिए। उनीमाथि भ्रष्टाचारदेखि सरकारी उपहार बिक्रीसम्मका एक सयभन्दा बढी आरोप लागेका छन्। सन् २०२३ अगस्टदेखि जेलमा रहेका खानले आफूमाथिका मुद्दाहरू राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।
उनकी पत्नी बुशरा बीबी पनि गत वर्षदेखि जेलमा छिन्। खानको गिरफ्तारीपछि उनका समर्थकहरूले सन् २०२३ मेमा देशभर हिंसात्मक प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने सेनासमेत परिचालन गर्नुपरेको थियो।जेलमा रहे पनि पाकिस्तानी राजनीतिमा खानको प्रभाव कायमै छ। गत अक्टोबरमा उनका हजारौँ समर्थकले रिहाइको माग गर्दै दिनौँसम्म प्रदर्शन गरेका थिए। पछिल्लो समय पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले समेत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफलाई पत्र लेख्दै खानलाई उचित स्वास्थ्य उपचार उपलब्ध गराउन आग्रह गर्दै आएका छन्।यसरी इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर परिवार र समर्थकको चिन्ता बढिरहेका बेला सरकारी अधिकारीहरूले भने उनको स्वास्थ्य स्थिर रहेको बताउँदै आएका छन्। उनको उपचार र जेलमा राखिएको अवस्थाबारे उठेको विवादले पाकिस्तानको राजनीतिक तनावलाई थप चर्चामा ल्याएको छ।
