हिउँदमा उत्पादन घट्दा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्थाले नेपालको विद्युत् व्यापारलाई थप जटिल
नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन निर्यात सम्झौता अन्तर्गत भारतको हरियाणामा ४०४ मेगावाट तथा उत्तर प्रदेश र बिहारमा गरी २०५ मेगावाट बिजुली बिक्री गर्दै आएको थियो। तर, उक्त सम्झौताको अवधि गत अक्टोबरको अन्त्यदेखि सकिएको छ।नेपालले भारतका विभिन्न राज्यमा बिक्री गर्दै आएको ६०९ मेगावाट बिजुली यस वर्ष निर्यात गर्न पाएन। द्विपक्षीय बिक्री सम्झौताको अवधि सकिएपछि भारतीय ऊर्जा एक्सचेन्जमार्फत बिजुली बिक्री गर्न अनुमति मागे पनि भारतले स्वीकृति नदिँदा नेपालको निर्यात प्रभावित भएको हो।
सम्झौताको अवधि सकिएपछि नेपालले उक्त परिमाणको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्फत बिक्री गर्ने तयारी गरेको थियो। त्यसका लागि नेपालले गत अगस्टमै भारतसमक्ष अनुमति माग्दै प्रस्ताव पठाएको थियो। तर, प्रस्ताव पठाएको करिब तीन महिना बितिसक्दा पनि भारतबाट स्वीकृति आएको छैन।यसअघि पनि मध्यकालीन सम्झौताको अवधि सकिएपछि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमार्फत बिजुली बिक्री गर्दै आएको थियो। तर, यस वर्ष भारतले ६०९ मेगावाट बिजुलीलाई उक्त बजारमार्फत निर्यात गर्न अनुमति नदिएको हो।नेपालको आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन भएको अवस्थामा भारतीय ऊर्जा एक्सचेन्जमा बिक्रीका लागि राख्न सकिन्छ। उक्त बजारमा माग र प्रतिस्पर्धी मूल्यका आधारमा कारोबार हुन्छ। डे-अहेड मार्केटमार्फत अर्को दिनका लागि र रियल टाइम मार्केटमार्फत तत्काल आवश्यकताअनुसार बिजुली खरिद–बिक्री गर्न सकिन्छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार यस वर्ष वर्षायाममा नेपालसँग अतिरिक्त बिजुली रहेकाले भारतमा निर्यात गर्न सकिने अवस्था थियो। दसैँ, तिहार र छठका कारण उद्योग तथा अन्य क्षेत्रमा विद्युत् खपत घट्दा आन्तरिक मागभन्दा उत्पादन बढी भएको थियो। तर, भारतबाट अनुमति नआउँदा उक्त बिजुली बिक्री गर्न सकिएन।अब त हामीले नै बिजुली निर्यात बढाउनुपर्ने बेला भएको छ, अब अनुमति पाए पनि यो वर्ष हिउँदमा दिन सकिँदैन,’ श्रेष्ठले बताएका छन्।नदीमा पानीको बहाव घट्दै जाँदा जलविद्युत् उत्पादन पनि कम हुँदै गएको छ। यस्तो अवस्थामा आन्तरिक माग धान्नसमेत नेपालले भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ।प्राधिकरणका अनुसार अहिले नेपालमा करिब २ हजार ६ सयदेखि २ हजार ७ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ भने आन्तरिक माग २ हजार २ सयदेखि २ हजार ३ सय मेगावाटको हाराहारीमा छ।
आगामी माघ र फागुनमा नेपालले निरन्तर करिब ५०० मेगावाट बिजुली आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ। उच्च माग हुने समयमा भने आयातको परिमाण ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने देखिएको छ।यसैबीच, भारतले नेपाललाई आगामी हिउँदयामका लागि भारतीय ऊर्जा एक्सचेन्जबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न अनुमति दिएको छ। त्यस्तै, नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्जमार्फत बिक्री गर्न पनि स्वीकृति प्राप्त भएको छ।यसले नेपालको विद्युत् व्यापारमा देखिएको एउटा चुनौतीलाई उजागर गरेको छ। वर्षायाममा उत्पादन बढी हुँदा निर्यातका लागि अनुमति नपाउने र हिउँदमा उत्पादन घट्दा उल्टै भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्थाले नेपालको विद्युत् व्यापारलाई थप जटिल बनाएको छ।
