पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता

Spread the love

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर बोल्दै पोखरेलले देश र पार्टी दुवै भूराजनीतिक बोझले थिचिएको अवस्था रहेको उल्लेख गरे।उनले पार्टी जीवनको लोकतान्त्रिकरणका विषयमा ओलीकै विगतका प्रस्ताव र प्रयास स्मरण गराउँदै आफू त्यसै अवधारणामा दृढ रहेको बताए। पार्टीलाई विधि र प्रणालीअनुसार अघि बढाउन ओलीले स्थान छाडेर आफ्ना अवधारणा लागू गर्न सक्ने संकेतसमेत पोखरेलले गरे।पोखरेलले विगतमा माओवादीसँग गरिएको एकता प्रक्रिया सन्तुलित नहुँदा पार्टी विघटन भएको अनुभव सुनाए। साथै, एमाले स्थापनादेखि हालसम्मका महाधिवेशनहरू आयोजना गर्ने संयोग आफूलाई परेको पनि उल्लेख गरे।उनले पार्टीभित्र अहिले विचार वा नेतृत्वभन्दा बढी कार्यशैलीको समस्या रहेको भन्दै यही अवस्था रहिरहे पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता व्यक्त गरे। पार्टीलाई सामूहिक नेतृत्व, विधि र प्रक्रियाबाट सञ्चालन गर्नुपर्ने उनको जोड थियो।