सद्भाव प्रवर्द्धनका लागि राजनीतिक र नागरिक समाजबीच सहकार्य आवश्यक : मानव अधिकार तथा शान्ति समाज
सुरेश कुमार थपलिया
मानव अधिकार तथा शान्ति समाजले सामाजिक तथा राजनीतिक सद्भाव प्रवर्द्धनका लागि राजनीतिक समाज र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको जनाएको छ।मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको २०८३ साउनदेखि कात्तिक मसान्तसम्म हुने साधारण सभाको उद्घाटन सत्रमा प्रस्तुत अवधारणापत्रमा हिंसा, घृणा र द्वेषलाई निरुत्साहित गर्दै शान्तिपूर्ण तथा सद्भावयुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
अवधारणापत्रमा हिंसालाई बढावा दिने प्रवृत्ति, प्रचलन तथा परम्परालाई निरुत्साहित गर्ने उद्देश्यले तीन दशकअघि मानव अधिकार तथा शान्ति समाज स्थापना भएको स्मरण गर्दै सद्भाव प्रवर्द्धन शान्ति समाजको प्रमुख उद्देश्यमध्ये एक रहेको जनाइएको छ। शान्ति तथा अहिंसात्मक संस्कृतिको निर्माण र विस्तारका लागि सद्भाव प्रवर्द्धन अपरिहार्य भएको समाजको भनाइ छ।
समाजले विगत तीन दशकमा शान्ति तथा सद्भाव प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको जनाएको छ। समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा जोड दिँदै अवधारणापत्रमा शान्तिको मुहान नै सद्भाव भएको उल्लेख गरिएको छ।
पछिल्लो समय देशका विभिन्न भागमा भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै राजनीतिकलगायत विभिन्न स्वार्थका खातिर सद्भाव भड्काउने षड्यन्त्र हुनसक्नेतर्फ सजग रहन आह्वान गरिएको छ। यस्ता घटनाका पछाडि रहेका प्रमुख पात्र र प्रवृत्तिको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने धारणा समाजले अघि सारेको छ।
अवधारणापत्रमा “सद्भाव एकता अभियान” सञ्चालन गरिएको जानकारी दिँदै संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरिएको छ। अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा सद्भाव एकता र्याली सम्पन्न गरिएको जनाइएको छ।
समाजले सामाजिक सञ्जाल तथा सूचना प्रविधिको विवेकसम्मत प्रयोग गर्नुपर्नेमा समेत जोड दिएको छ। प्रविधिको दुरुपयोग गरी भ्रम, मिथ्या सूचना तथा द्वेष फैलाउने कार्य रोक्नुपर्ने भन्दै हिंसा वा द्वेष फैलाउने सामग्री प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार भए पनि घृणात्मक अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वीकार्य नहुने समाजको स्पष्ट धारणा छ। घृणात्मक अभिव्यक्तिले समाजमा हिंसा तथा द्वेष बढाउने भएकाले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताइएको छ।
मानव अधिकार तथा शान्ति समाजले राज्य, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैलाई आधारभूत स्वतन्त्रताको संरक्षणसँगै त्यसको जिम्मेवार प्रयोग गर्न आग्रह गरेको छ। विज्ञान तथा प्रविधिलाई सभ्यताको उपहारका रूपमा प्रयोग गर्दै सद्भाव र सहिष्णुतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा समाजले जोड दिएको छ।
