अभिव्यक्ति स्वतन्त्रताको विषयमा आत्मसमीक्षा गर्नुपर्ने

Spread the love

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बीआईसीसी अगाडि आयोजित कार्यक्रमबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद धितालले आफू कार्यक्रम देखेर ‘अवाक्’ भएको बताएकी छन्।जेनजी सहिद दिवसका अवसरमा आयोजित स्मृति सभामा विवादित पृष्ठभूमिका धर्मगुरुहरू मञ्चमा देखिएपछि रास्वपा सांसद क्रान्तिशिखा धितालले कार्यक्रमको स्वरूप र त्यसमा सहभागी व्यक्तिहरूमाथि प्रश्न उठाएकी छन्।

उनले जेनजी सहिद र घाइतेहरूको सम्झनामा आयोजित कार्यक्रमले उनीहरूको परिवारको पीडा कसरी सम्बोधन गर्‍यो भन्ने प्रश्नसमेत गरेकी छन्।‘मलाई कताकता लाग्यो हामीले Gen Z सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,’ उनले लेखेकी छन्।कार्यक्रममा धर्मगुरुहरूको उपस्थितिलाई लिएर पनि धितालले प्रश्न उठाएकी छन्। ‘त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो?’ भन्दै उनले कार्यक्रमको मञ्च र त्यसको प्रस्तुतिमाथि असन्तुष्टि व्यक्त गरेकी हुन्।जेनजी आन्दोलनले उठाएका मुद्दाहरू स्मरण गराउँदै उनले गत वर्ष प्रेस स्वतन्त्रता, सत्ता निरंकुश नहोस् र राज्यले आफ्नो सीमाभित्र रहेर काम गरोस् भन्ने मागसहित सडकमा उत्रिएको उल्लेख गरेकी छन्।उनले अहिले भने जेनजी आन्दोलनका क्रममा उठाइएका प्रश्नको उल्टो अवस्था देखिएको भन्दै प्रश्न गरेकी छन्।हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ। अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ?’ उनले प्रश्न गरेकी छन्।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा समेत उनले पार्टी तथा सत्तापक्षको व्यवहारमाथि आत्मसमीक्षा गर्नुपर्ने संकेत गरेकी छन्। तत्कालीन सरकारमाथि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको आरोप लगाउँदै सडकमा गएको स्मरण गराउँदै उनले अहिले आफूहरू त्यस अधिकारलाई बल पुग्ने काम गरिरहेका छौँ कि बाँकी अधिकारको समेत तेजोबध गर्न खोजिरहेका छौँ भन्ने प्रश्न गरेकी छन्।यसै क्रममा गृहमन्त्री सुदन गुरुङले कार्यक्रममा विभिन्न पार्टीका नेता तथा केही पत्रकारलाई लक्षित गर्दै दिएको ‘अझै पनि समय छ, सुध्रिनुस्’ भन्ने अभिव्यक्तितर्फ संकेत गर्दै धितालले कडा प्रतिप्रश्न गरेकी छन्।सुध्रिनु अरुले मात्रै पर्ने। हामीले चाहिँ सुध्रिनु नपर्ने?’ भन्दै उनले अन्त्यमा प्रश्न गरेकी छन्– ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान?’