वाङ्मय स्थानीय प्रतिभा पुरस्कार प्रदान
जिल्लाको लालबन्दी नगरपालिकामा आइतबार लालबन्दी नगर वाङ्मय परिषदले आयोजना गरेको पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
समारोहमा नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष एवं चियोचर्चो दैनिक खबर पत्रीकाका प्रकाशक तथा प्रधान सम्पादक कृष्णप्रसाद थपलियालाई ‘लालबन्दी नगर वाङ्मय परिषद स्थानीय प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । पत्रकार थपलियालाई नगद रु. २५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । पत्रकारितामार्फत समाजमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै परिषदले उनलाई उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ ।
त्यसैगरी ‘कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ साहित्यकार दिनेश अधिकारीलाई नगद रु. ५० हजार सहित प्रदान गरिएको छ भने ‘लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार’ लेखक तथा कृतिकार रमेश क्षितिजलाई प्रदान गरिएको छ ।
कार्यक्रममा लेखक देवराज पौडेलद्वारा लिखित ‘मेरो पाठशाला’ पुस्तकको विमोचन गरिएको थियो । साथै वरिष्ठ छन्दकवि कुमार कुसुमले आफ्नो चर्चित कविता ‘हराएको देश’ वाचन गरेका थिए ।परिषदका अध्यक्ष अच्युत अधिकारीले भाषा, साहित्य, पत्रकारिता र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै स्रष्टाको योगदानको सम्मान गर्ने उद्देश्यले परिषदले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको उनले बताएको छ ।
