नेसनल पेमेन्ट गेटवे भ्रष्टाचारमा ९ वर्ष कैद सजाय
विशेष अदालतले विदेशी कम्पनीसँग २ लाख ८० हजार अमेरिकी डलर (करिब ३ करोड ८ लाख ५० हजार रुपैयाँ) बराबर घुस लिएको ठहर गरेको हो।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार पौडेललाई परामर्श शुल्कको नाममा घुस लिएको ठहर गर्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। अदालतले घुस दिने कार्यमा संलग्न एफ–५ कम्पनीका नेपाल प्रतिनिधि दिपक आनन्द सिंहलाई पनि दोषी ठहर गरेको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्र का पूर्व कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतले विदेशी कम्पनीसँग २ लाख ८० हजार अमेरिकी डलर (करिब ३ करोड ८ लाख ५० हजार रुपैयाँ) बराबर घुस लिएको ठहर गरेको हो।
अदालतका अनुसार एनआईटीसीको ‘सेक्युरिटी एप्लिकेसन र नेटवर्क इक्विपमेन्ट’ खरिद प्रक्रियामा पौडेलले अस्वाभाविक चासो देखाउँदै ठेक्का प्रक्रियामा अनियमितता गरेका थिए।अनुसन्धानका क्रममा पौडेलबाट बरामद भएको आईफोन प्रो म्याक्सको ब्याकअप रहेको डेल ल्यापटपको फरेन्सिक परीक्षणबाट घुससम्बन्धी महत्वपूर्ण प्रमाण फेला परेको थियो। अदालतका अनुसार ल्यापटपमा सुरक्षित च्याट संवादमा ठेक्काको अनुमानित लागत, दरभाउ, उपकरणको विवरण तथा अन्ततः २ लाख ८० हजार अमेरिकी डलर ‘परामर्श शुल्क’ दिने सहमति भएको उल्लेख भेटिएको थियो।त्यो रकम तत्कालीन विनिमय दरअनुसार ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बराबर हुने अदालतले जनाएको छ। अदालतले यसलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गतको कसुर ठहर गरेको छ भने दिपक आनन्द सिंहलाई सोही ऐनको दफा ३(३) अनुसार घुस दिन मञ्जुर गरेको कसुरमा दोषी ठहर गरेको छ।यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त रकम कहाँ जम्मा भएको वा भौतिक रूपमा बरामद भएको पुष्टि गर्न नसकेकाले बिगो जफतको माग भने अदालतले अस्वीकार गरेको छ।
दोषी ठहर भएका पौडेल र सिंहको सजाय निर्धारणका लागि साउन १ गते (असार ३२) पेसी तोकिएको छ।यसअघि पनि सुनिल पौडेल नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा ९ वर्ष कैद सजाय भोगिरहेका छन्। त्यस्तै, सिंगापुरस्थित बैंक खातामा अकुत सम्पत्ति राखेको अर्को मुद्दामा विशेष अदालतले मंगलबार नै उनलाई दुई वर्ष ६ महिना कैद र १२ करोड ७५ लाख रुपैयाँ जरिबाना गर्ने फैसला सुनाइसकेको छ।
