जनादेशको सम्मान गर्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह प्रधानमन्त्रीलाई हटाउनुभन्दा जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड -ज्ञानेन्द्र शाही
सबिना प्रजा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस आधार नरहेको बताएका हुन्। उनले जनताले विगत ३५ वर्षदेखि देशमा भ्रष्टाचार र लुटतन्त्र मच्चाउने शक्तिविरुद्ध मतदान गरेर नयाँ विकल्प रोजेको उल्लेख गरेका छन्।
शाहीले जनादेशको सम्मान गर्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गर्दै प्रधानमन्त्रीलाई हटाउनुभन्दा जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले लेखेका छन्, “हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्।”
शाहीका अनुसार संसद् जनताको आवाज उठाउने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले सरकारले संसद्को सम्मान गर्न आवश्यक छ। उनले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गर्न नहुने धारणा पनि राखेका छन्।
यसअघि सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेका थिए। त्यसपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा प्रधानमन्त्रीको कार्यशैलीबारे बहस चर्किएको छ।
शाहीले भने व्यवस्था र पद्धति बलियो बनाउन सरकार उत्तरदायी बन्नुपर्ने तर अहिलेको अवस्थामा राजीनामा समाधान नभएको बताएका छन्।
