समाचार

नेपाल र भारतको धर्म, परम्परा तथा संस्कृति समान रहेको धारणा व्यक्त

Spread the love

प्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै भारतको कर्नाटकमा विवाह गरेकी सुजाताले कला र मानवीय भावनालाई कुनै पनि देशको सीमाभित्र बाँध्न नसकिने बताइन्।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की बहिनी सुजाता शाहले नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो ‘रोटीबेटी’ सम्बन्धले दुई देशबीचको आत्मीयतालाई अझ सुन्दर र बलियो बनाउने बताएकी छन्।मानव जीवनको परिभाषाबारे आफ्नो धारणा राख्दै उनले भनिन्, ‘मेरो विचारमा अहिले हरेक व्यक्तिका लागि जीवनको परिभाषा यही हुनुपर्छ—बाँचौँ र बाँच्न दिऔँ, खुसी रहौँ र खुसी बाँडौँ। आफ्नो वरपर शान्तिपूर्ण वातावरण कायम राख्नु नै हाम्रो सबैभन्दा ठूलो धर्म हो।’

नेपाल र भारतबीचको ऐतिहासिक वैवाहिक सम्बन्धको चर्चा गर्दै उनले त्रेतायुगमा नेपालकी सीता र भारतका रामबीच भएको विवाहको प्रसंगसमेत स्मरण गरिन्।एक देशबाट अर्को देशमा विवाह गर्ने परम्परा सहज रहेको र त्यसमा कुनै भेदभाव नहुने गरेको उल्लेख गर्दै उनले विवाहलाई अहिले पनि ठूलो विषय बनाउन नहुने बताइन्। यस्तो सम्बन्धले दुई देशबीचको आत्मीयता थप मजबुत बनाउने उनको भनाइ थियो।

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सुरु भएको रेलसेवाको प्रशंसा गर्दै सुजाताले यसलाई सकारात्मक कदम बताइन्। उक्त रेलसेवाले नेपाल र भारत शताब्दीयौँदेखि पवित्र सम्बन्धको धागोमा बाँधिएको प्रतीकात्मक सन्देश दिएको उनले उल्लेख गरिन्।दुवै देशका नेतृत्वले ‘हामी एक हौँ’ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउँदै उनले नेपाल र भारतको धर्म, परम्परा तथा संस्कृति पनि कतै न कतै समान रहेको धारणा व्यक्त गरिन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री बालेनले आफ्नो भ्रमण सम्पन्न गरेका छन्।