सुनको खरिद–बिक्रीमा उतारचढाव एकै दिन तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
सुरेस कुमार थपलिया
काठमाडौं, मंसिर ७। नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। केही दिनयता लगातार घटेको सुनको भाउ सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो।
गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। केही दिनअघि सुनको मूल्य २ लाख ६० हजार रुपैयाँभन्दा माथि पुगेको थियो। त्यसपछि लगातार घट्दै आएको मूल्यमा पुनः वृद्धि देखिएको हो।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला २ लाख ४४ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने परिवर्तन, अमेरिकी डलरको विनिमय दर, ब्याजदर, लगानीकर्ताको माग तथा विश्व आर्थिक र राजनीतिक अवस्थाले नेपाली बजारमा सुनको मूल्य प्रभावित हुने गरेको छ।
मूल्यमा देखिएको उतारचढावले सुन खरिद तथा बिक्री गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई प्रभावित बनाएको छ। पुरानो सुन बिक्री गर्दा शुद्धता र तौलका आधारमा पसलअनुसार मूल्य फरक पर्न सक्ने व्यवसायीहरू बताउँछन्।
