समाचार

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै शिव र विष्णुको विशेष पूजा गरिँदै

Spread the love

सुरेस कुमार थपलिया
काठमाडौं, मंसिर ७। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व वैकुण्ठ चतुर्दशी आज सोमबार देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णु र भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार वैकुण्ठ चतुर्दशीका दिन भगवान् विष्णु र भगवान् शिवको एकसाथ पूजा गर्नाले पुण्य प्राप्त हुने तथा मोक्षको मार्ग प्रशस्त हुने विश्वास गरिन्छ।
यस अवसरमा भक्तजनले बिहानै पवित्र नदी, तलाउ तथा जलाशयमा स्नान गरी व्रत बस्ने, दीप प्रज्वलन गर्ने, जप, ध्यान र दान गर्ने गर्दछन्। भगवान् विष्णुलाई तुलसीपत्र, फूल तथा नैवेद्य र भगवान् शिवलाई बेलपत्र, जल तथा फूल चढाएर पूजा गर्ने चलन छ।
नेपालका विभिन्न विष्णु तथा शिव मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढ्ने गर्दछ। विशेषगरी पशुपतिनाथलगायतका धार्मिकस्थलमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको उपस्थिति रहने गर्दछ।
वैकुण्ठ चतुर्दशीले हिन्दू धर्ममा भगवान् विष्णु र शिवबीचको धार्मिक एकता, सहअस्तित्व र सद्भावको सन्देश दिने पर्वका रूपमा विशेष महत्व राख्दछ।