एमाले सुनसरी १७ का निर्वाचित वडाअध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन

Spread the love

नेकपा (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का निर्वाचित वडाअध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी सदस्यसमेत रहेका आचार्यलाई पार्टीको निर्णय र नीतिविपरीत गतिविधि गरेको आरोपमा निष्कासन गरिएको एमाले सुनसरीले जनाएको छ।

जिल्ला कमिटीले जारी गरेको पत्रमा आचार्यलाई पटक–पटक सचेत रहन आग्रह गरिए पनि उनले अटेर गर्दै पार्टी नीति र नेतृत्वविरुद्ध गतिविधि जारी राखेको उल्लेख गरिएको छ। पार्टीको आधिकारिक उम्मेदवार र निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिँदै संगठनलाई कमजोर पार्ने काम गरेको निष्कर्षसहित उनलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ।

आचार्यका छोरा आदित्य आचार्य सुनसरी क्षेत्र नम्बर २ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन्। प्रभात आचार्यले छोराको पक्षमा मत माग्दै हिँडेको तथा पार्टीविरुद्ध अभिव्यक्ति दिएको आरोप एमालेले लगाउँदै आएको थियो। सोही विषयलाई आधार बनाएर अनुशासन कारबाही गरिएको बुझिएको छ।

प्रभात आचार्य यसअघि निर्वाचनको समयमा माओवादीबाट एमालेमा प्रवेश गरेका थिए। पछिल्लो निर्णयसँगै सुनसरी एमालेभित्र निर्वाचनको पूर्वसन्ध्यामा आन्तरिक हलचल देखिएको छ। पार्टीले भने संगठनात्मक अनुशासन कायम राख्न कारबाही अपरिहार्य भएको स्पष्ट पारेको छ।