मौसम परिवर्तन भीडभाड अस्थायी बसोबासका कारण सुकुम्बासी परिवारका लागि सञ्चालन गरेको हेल्थ डेस्क प्रभावकारी बन्दै गएता पनि स्वास्थ्य चुनौती थपिन सक्ने

Spread the love

सबिना प्रजा

कोहलपुर नगरपालिकाले अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी परिवारका लागि सञ्चालन गरेको हेल्थ डेस्क प्रभावकारी बन्दै गएको छ। होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि त्यहाँ बसोबास गर्ने परिवारले सहज रूपमा उपचार सेवा पाउन थालेका छन्।नगरपालिकाले सुकुम्बासी परिवारको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै हेल्थ डेस्क सञ्चालन गरेपछि दैनिक २० देखि ३० जनासम्मले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिइरहेका छन्। नगर अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नियमित सेवा सञ्चालन भइरहेको छ भने रातिको समयमा पनि निगरानीको व्यवस्था गरिएको छ। बिरामी सामान्य प्रकृतिका छन्। ग्यास्टिक, टाउको दुख्ने, ज्वरो, रुघाखोकीजस्ता समस्या बढी देखिएको उनले बताइन्। केही व्यक्तिमा उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्या पनि देखिएको छ।

उनका अनुसार हाल होल्डिङ सेन्टरमा पाँचजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूले नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण, स्वास्थ्य परामर्श तथा निगरानीको काम गरिरहेका छन्। आवश्यक पर्ने सामान्य औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै उमेर समूहअनुसार जुकाको औषधि वितरण गरिएको स्वास्थ्यकर्मीले बताएका छन्। अस्थायी बसोबास, भीडभाड र सरसफाइसम्बन्धी चुनौतीका कारण संक्रमणको जोखिम बढ्न सक्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।

नर्सिङ निरीक्षक केसीका अनुसार हेल्थ डेस्क स्थापना भएपछि स्वास्थ्यसम्बन्धी जोखिम कम भएको छ। “हेल्थ डेस्क नहुँदो हो त सामान्य बिरामी पनि जटिल बन्न सक्थे,” उनले भनिन्।

अधिकांश परिवार आर्थिक रूपमा कमजोर भएकाले बाहिर गएर उपचार गराउन कठिन हुने अवस्था रहेको उनले बताइन्। अहिले भने निःशुल्क उपचार र औषधि उपलब्ध भएपछि परिवारहरूले राहत महसुस गरेका छन्।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अस्थायी बसोबासमा रहेका नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर रहेको बताए। उनले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको जानकारी दिए।होल्डिङ सेन्टरमा सरसफाइ तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, संक्रमणबाट बच्ने उपाय र पोषणसम्बन्धी परामर्श दिइरहेका छन्।

हालसम्म कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको भए पनि मौसम परिवर्तन, भीडभाड र अस्थायी बसोबासका कारण आगामी दिनमा स्वास्थ्य चुनौती थपिन सक्ने भएकाले सतर्कता अपनाइएको जनाइएको छ।