२० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा

Spread the love

सनिवार साँझ ताइझोउ र मध्यरातमा वेन्झोउमा ठोक्किएको आँधी आइतबार बिहान जजियाङ प्रान्तको हाङझोउ पुगेको हो। चीनमा एक साताभित्रै दोस्रो शक्तिशाली समुद्री आँधी ‘टाइफून बाभी’ प्रवेश गरेपछि तटीय क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। करिब १ हजार किलोमिटर क्षेत्रमा फैलिएको आँधीका कारण जजियाङ प्रान्तमा मात्रै २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजधानी बेइजिङमा पनि थप १ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिइएको छ। आँधीको प्रभावका कारण जजियाङमा विद्यालय, सरकारी कार्यालय तथा बाह्य गतिविधि स्थगित गरिएका छन् भने ४०० भन्दा बढी हवाई उडान र दर्जनौँ रेल सेवा रद्द गरिएको छ।सुरुमा ‘सुपर टाइफून’ का रूपमा गुआम र उत्तरी मारियाना टापुमा प्रतिघण्टा २९० किलोमिटरको वेगमा पुगेको बाभी चीन आइपुग्दा करिब १४४ किलोमिटर प्रतिघण्टाको गतिमा कमजोर भएको थियो। यद्यपि मौसमविद्हरूले यसको वर्षा प्रणाली अझै सक्रिय रहेकाले बाढी, डुबान र पहिरोको जोखिम उच्च रहेको चेतावनी दिएका छन्।

चीन पुग्नुअघि बाभीले फिलिपिन्समा पहिरो निम्त्याउँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। जापानको रियुक्यु तथा साकिशिमा टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको थियो भने ताइवानमा भारी वर्षा र पहिरोको चेतावनी जारी गरिएको छ।मौसम पूर्वानुमानअनुसार बाभी सोमबार पूर्वी एन्होय हुँदै मंगलबार शान्दोङ प्रायद्वीप पार गरी उत्तरी यलो सीतर्फ अघि बढ्नेछ। गत साता आएको ‘मेसाक’ आँधीको क्षतिबाट अझै उकासिन नपाउँदै दोस्रो शक्तिशाली आँधीको सामना गर्नुपरेकाले चीनको पूर्वी तटीय क्षेत्रको जनजीवन थप प्रभावित बनेको छ।