दुई छिमेकी मुलुक विश्व बैंकबाट आएको सहयोग प्रतिबद्धताले उद्धार तथा पुनःस्थापना अभियानलाई थप बल पुग्ने
नेपालमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्।बाढीग्रस्त नेपाललाई भारत, चीन र विश्व बैंकको साथ, तत्काल सहयोग जुटाउन समन्वय
बाढीबाट विशेषगरी रसुवा, नुवाकोट र धादिङ प्रभावित भएका छन्। रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको अचानकको बाढीले सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। घटनामा ठूलो मानवीय क्षति भएको र सयौं मानिस सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहयोग परिचालन गर्न सकिने जानकारी दिएको जनाइएको छ।यता, भारतले नेपाल सरकारसँग तत्काल आवश्यक राहत सामग्रीको सूची मागेको छ। भारतीय सहयोग सामग्री नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गर्दै नेपाललाई उद्धार तथा राहतमा आवश्यक सबै सम्भावित मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। चिनियाँ पक्षले सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग समन्वय थालेको छ। चीनले आफ्नोतर्फ पनि सीमा क्षेत्रमा उद्धारका लागि सयौं उद्धारकर्मी परिचालन गरेको छ।
यसैबीच, सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहतलाई प्राथमिकतामा राखेको छ। रसुवा र नुवाकोटका लागि एक/एक करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ तत्काल उद्धार तथा राहतका लागि उपलब्ध गराउने निर्णय भएको छ।सरकारले प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै क्षतिग्रस्त सडक, विद्युत् र सञ्चार पूर्वाधार पुनःस्थापनाको काम अघि बढाउने जनाएको छ।बाढीले बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडक समेत विभिन्न स्थानमा बगाएको छ। महत्वपूर्ण पुलहरू समेत क्षतिग्रस्त भएपछि चीनसँगको सीमा व्यापार तथा आवतजावतमा समेत ठूलो असर परेको छ।नेपालमा विपद्का बेला दुई छिमेकी मुलुक र विश्व बैंकबाट आएको तत्काल सहयोगको प्रतिबद्धताले उद्धार तथा पुनःस्थापना अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
