बाढी पहिरोका कारण सडक सञ्चार पूर्वाधारमा क्षति सम्पर्क स्थापित गर्न कठिनाइ
जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित सबैमा आग्रह गरेको छ।रसुवा र नुवाकोटमा आएको भीषण बाढी तथा पहिरोपछि दाङबाट कामको सिलसिलामा ती जिल्लामा पुगेका १० जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विभिन्न व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये केही रसुवाका स्वास्थ्य चौकी तथा जलविद्युत् आयोजनामा कार्यरत थिए भने केही नुवाकोटमा जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा काम गरिरहेका थिए।सूचनाअनुसार कोपिला केसी र खम्बु बोहोरा रसुवाको स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत थिए। शिवशंकर जोशी मैलुङ हाइड्रोपावरमा तथा प्रमिला बुढाथोकी टिमुरे हाइड्रोपावरमा कार्यरत रहेको उल्लेख छ।त्यस्तै शोभाराम योगी, लालबहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी नुवाकोटस्थित फेवा हाइड्रोपावरको सुरुङमा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।ध्रुवबहादुर बुढामगर ठेक्कापट्टि तथा कामको सिलसिलामा रसुवा–नुवाकोट गएको र पूर्णबहादुर बस्नेत रसुवामा रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार उनीहरूबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रसुवा तथा नुवाकोटमा बाढी र पहिरोका कारण सडक, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी वा सम्पर्क प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ।जानकारीका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङको १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको ९८५७८०७७७७ र जिल्ला प्रहरी कार्यालय दाङको ९८५७८०५५५५ नम्बरमा समेत सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
