व्यापक तयारीसहित अपरेशन सफल भएको दाबी
जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाका अनुसार गुम्मी जिल्लामा सञ्चालन गरिएको अपरेशनमा अपहरण, गाई चोरी तथा अन्य हिंसात्मक गतिविधिमा संलग्न ठूलो सशस्त्र समूहलाई लक्षित गरिएको थियो।नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा सेनाले सञ्चालन गरेको दुईदिने विशेष कारबाहीमा ३०० भन्दा बढी विद्रोही तथा सशस्त्र गिरोहका सदस्य मारिएको सरकारी अधिकारीहरूले बताएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार सेनाले गाउँलेहरूको सहयोगमा सयौँ चोरी गरिएका गाई लिएर सर्दै गरेका करिब एक हजार सशस्त्र व्यक्तिमाथि कारबाही गरेको थियो। झडप रातभर चल्दा गोली र विस्फोटको आवाजले पूरा क्षेत्र त्रसित बनेको बताइएको छ।अधिकारीहरूका अनुसार केही विद्रोही अझै पनि सुरक्षा फौजको घेराबन्दीमा रहेका छन्। यसअघि यही क्षेत्रमा पर्याप्त तयारी नपुगेपछि सेना फिर्ता भएको भए पनि यसपटक व्यापक तयारीसहित गरिएको अपरेशन सफल भएको दाबी गरिएको छ।
नाइजेरियाको उत्तर तथा मध्य क्षेत्रमा अपहरण, फिरौती, गाई चोरी र किसानमाथि हुने आक्रमणका घटनाले लामो समयदेखि सुरक्षा चुनौती सिर्जना गर्दै आएका छन्। सुरक्षा विश्लेषकहरूले आर्थिक लाभका लागि सक्रिय सशस्त्र गिरोह र जिहादी समूहबीच सहकार्य बढ्दै गएको बताएका छन्। जाम्फारा सरकारले यस कारबाहीलाई हिंसात्मक अपराधविरुद्धको ठूलो सफलता भन्दै सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।
