बारम्बार घातक आक्रमण गर्ने हात्ती ध्रुवे मात्र रहेको निकुञ्ज प्रशासनको भनाइ

Spread the love

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार हात्ती भेटिनेबित्तिकै बेहोस बनाउने ‘डार्ट’ प्रयोग गरिनेछ। २५ जनाको ज्यान लिइसकेको कुख्यात जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर दाह्रा छोट्याउने तथा नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको छ। त्यसपछि उसको दाह्रा काटिने र नयाँ रेडियो कलर जडान गरिनेछ। यसअघि दुई वर्षअघि पनि ध्रुवेको दाह्रा काटिएको थियो।उनका अनुसार हाल प्रयोग भइरहेको रेडियो कलरले समयमा सूचना दिन नसकेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो। नयाँ रेडियो कलरमार्फत हात्तीको गतिविधि प्रभावकारी रूपमा निगरानी गर्न र बस्तीतर्फ प्रवेश गरे स्थानीयलाई समयमै सतर्क गराउन सहज हुने विश्वास गरिएको छ।

गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। घटनापछि हात्ती निकुञ्जभित्रको सुखीभार क्षेत्रमा पुगेको थियो।आमाछोरामाथि आक्रमणपछि आगो बालेर हात्ती धपाउने प्रयास गर्दा पीडित परिवारको घरसमेत जलेर नष्ट भएको थियो। त्यसयता निकुञ्जले ध्रुवेको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

निकुञ्जका अनुसार ध्रुवेले सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्र नजिक दुई घरमा पसेर अन्नसमेत खाएको थियो।ध्रुवेले २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको हो। २०६९ सालसम्म आइपुग्दा मात्रै उसले १५ जनाको ज्यान लिएको थियो। त्यसपछि स्थानीय प्रशासनले हात्ती मार्ने निर्णय गरे पनि पछि रेडियो कलर जडान गरी निगरानी गर्ने र दाह्रा काट्ने विकल्प अपनाइएको थियो।

२०७४ सालमा नेपाली सेनाका एक सेनानीको ज्यान लिएपछि ध्रुवेले करिब नौ वर्षसम्म कुनै मानवहत्या गरेको थिएन। तर, शनिबारको घटनासँगै उसको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको निकुञ्जले जनाएको छ।चितवन राष्ट्रिय निकुञ्जमा हाल ४५ देखि ५० वटा जंगली हात्ती रहेको अनुमान गरिएको छ। तीमध्ये बारम्बार घातक आक्रमण गर्ने हात्ती ध्रुवे मात्र रहेको निकुञ्ज प्रशासनको भनाइ छ। साथै, हात्तीको आक्रमणबाट क्षति भएको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले संयुक्त पहल गर्ने तयारी गरेका छन्।