विश्वकपलाई स्मरणीय बनाउन प्रशिक्षक लियोनेल स्कालोनीको टोली दबाब अपेक्षाबीच मैदानमा
साबिक विश्वकप विजेता अर्जेन्टिना विश्वकप २०२६ अभियान सुरु गर्दैछ। कप्तान लियोनेल मेसीको सम्भावित अन्तिम विश्वकपलाई स्मरणीय बनाउन प्रशिक्षक लियोनेल स्कालोनीको टोली दबाब र अपेक्षाबीच मैदानमा उत्रन लागेको हो।
स्कालोनीले पछिल्ला तीन ठूला उपाधि जिताएर ऐतिहासिक सफलता दिलाइसकेका छन्। यसपटक पनि उनले कतार विश्वकप जितेको अनुभव बोकेको पुरानो समूहलाई प्राथमिकता दिएका छन्। २६ सदस्यीय टोलीमध्ये १७ खेलाडी अघिल्लो विश्वकप खेलेका अनुभवी सदस्य हुन्।तर टोलीको औसत उमेर २९ वर्षभन्दा बढी पुगेको छ। कप्तान मेसी, गोलकिपर एमिलियानो मार्टिनेज र मिडफिल्डर रोड्रिगो डे पउलसहित नौ खेलाडी ३० वर्षमाथिका छन्, जसले टोलीको दीर्घकालीन ऊर्जा र गतिशीलताबारे प्रश्न उठाएको छ।
व्यस्त अन्तर्राष्ट्रिय र क्लब सिजनका कारण मुख्य खेलाडीहरू थकित देखिएको चर्चा पनि छ। पछिल्ला दुई सिजनमा एन्जो फर्नान्डेज र जुलियन अल्भारेजले क्लब र राष्ट्रिय टोलीका लागि समान १२१ खेल खेलेका तथ्य उल्लेख गरिएको छ। यस्तै, एलेक्सिस म्याक एलिस्टरको फर्ममा गिरावट आएको टिप्पणी पनि भइरहेको छ।अल्जेरियाविरुद्धको खेलअघि अर्जेन्टिनाले चोट समस्या पनि झेलिरहेको छ। डिफेन्डर निकोलस टागलियाफिको र नाहुएल मोलिना पूर्ण फिट छैनन्। टागलियाफिकोको स्थानमा युवा भ्यालेन्टिन बार्कोको सम्भावना भए पनि प्रशिक्षक स्कालोनीले रक्षात्मक सन्तुलनका लागि लिसान्ड्रो मार्टिनेजलाई प्राथमिकता दिन सक्ने देखिएको छ।
राइट–ब्याकमा गोन्जालो मोन्टिएलको अनुपस्थितिमा जियुलियानो सिमोनीलाई अवसर मिल्न सक्छ। अग्रपंक्तिमा भने चोटका कारण बाहिर रहेका जुलियन अल्भारेजको स्थान लाउटारो मार्टिनेजले सम्हाल्ने लगभग निश्चित छ।इटालीको कोमो क्लबमा प्रभावशाली प्रदर्शन गरेका २१ वर्षीय निको पाज पनि टोलीमा रहेका छन्। सामान्य चोटका कारण सुरुआती एकादशमा नपरे पनि उनी बेन्चबाट विकल्पका रूपमा प्रयोग हुन सक्नेछन्।समूह ‘जे’ मा रहेको अर्जेन्टिनाले अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता बनेमा अन्तिम ३२ चरणमा स्पेन वा उरुग्वेसँग सामना गर्नुपर्ने सम्भावना छ भने क्वार्टरफाइनलमा पोर्चुगलसँग सम्भावित भिडन्तको बाटो पनि खुला देखिन्छ।
