प्रारम्भिक छानबिनमा कुनै कैफियत नदेखिएपछि नियन्त्रणमा रहेका गाडीहरू फुकुवा
सबिना प्रजा
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बिवाइडी कम्पनीका चिनियाँ विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ। प्रारम्भिक छानबिनमा कुनै कैफियत नदेखिएपछि नियन्त्रणमा रहेका गाडीहरू सम्बन्धित पक्षको जिम्मा लगाइएको हो।सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार मुस्ताङको जोमसोम र कोरला नाकामा रोकिएका विद्युतीय सवारीसाधन आइतबार साँझदेखि क्रमशः फुकुवा गर्न थालिएको हो।
गत जेठको दोस्रो र तेस्रो सातामा कोरला नाका हुँदै बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा सवारीको मुस्ताङ भन्सार कार्यालयले जाँचपास गरिसकेको थियो। तर आयात प्रक्रियामा अनियमितता हुन सक्ने आशंकामा गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि सशस्त्र प्रहरीले ती सवारी नियन्त्रणमा लिएको थियो।कोरला नाका हुँदै आयात गरिएका ती सवारी साइमन इंकले नेपाल भित्र्याएको बताइएको छ। घटनाको छानबिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
छानबिन समितिले जेठ २१ गतेदेखि मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा रोकिएका सवारीसाधनको स्थलगत अध्ययन थालेको थियो। समितिको प्रारम्भिक प्रतिवेदनले ती विद्युतीय सवारीको आयात प्रक्रियामा कुनै स्पष्ट कैफियत फेला नपरेको निष्कर्ष निकालेको जनाइएको छ।यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोम क्षेत्रमा २६६ तथा कोरला नाकामा ३९४ गरी सयौँ विद्युतीय सवारी नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनपछि नियन्त्रणमा रहेका सबै सवारीसाधन फुकुवा गरिएको हो। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये अधिकांश गन्तव्यतर्फ पठाइसकिएको छ भने बाँकी सवारी पनि क्रमशः पठाइँदै छन्।कोरला नाकामा रहेका भन्सार जाँचपास भइसकेका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने र बाँकी सवारीको भन्सार प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।दुई सातासम्म चलेको नियन्त्रण र छानबिन प्रक्रियापछि कुनै स्पष्ट अनियमितता नदेखिएसँगै रोकिएका विद्युतीय सवारीसाधन फुकुवा भएका हुन्।
