तीनदिने महाधिवेशनका लागि सातदेखि आठ हजार जना अट्ने अस्थायी सभाहल निर्माणको काम सुरु

Spread the love

सबिना प्रजा

असार ७ देखि ९ गतेसम्म चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनका लागि सातदेखि आठ हजार जना अट्ने अस्थायी सभाहल (डोम) निर्माणको काम सुरु गरिएको छ।रत्ननगर–१ स्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जग्गामा बाँसको संरचनामा आधारित विशाल डोम निर्माण भइरहेको छ। करिब ३२ हजार ४८० वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त संरचनालाई टिनको टहरासँग जोडेर महाधिवेशनस्थल तयार पारिँदै छ। डोमको बीच भाग २९ फिट र छेउतर्फ १६ फिट अग्लो हुनेछ। संरचनामाथि उच्चस्तरीय, पानी नचुहिने टेन्ट राखिनेछ भने भित्र ७० वटा ठूला पंखा र २० वटा कुलर जडान गरिनेछ।

महाधिवेशनमा सहभागीहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलहरूमा सहुलियत दरमा बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको छ। सहभागीहरूले आफ्नै खर्चमा आवास सुविधा उपयोग गर्ने व्यवस्था रहने बताइएको छ।उद्घाटन समारोहका दिन टिकौलीचौरमा पार्किङको व्यवस्था गरी त्यहाँबाट सटल सवारीमार्फत कार्यक्रमस्थलसम्म ल्याउने–लाने व्यवस्था मिलाइनेछ। उद्घाटन सत्रका सहभागीहरूका लागि कार्यक्रमस्थलमै खानाको व्यवस्था पनि गरिने रास्वपाले जनाएको छ । रास्वपाका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरू तथा छिमेकी देशका प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गरिएको छ। दोस्रो दिन विधानमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ।