विकास आयोजनामा वर्षौंदेखि हुने ढिलासुस्तीप्रति जनप्रतिनिधिको असन्तुष्टि स्वाभाविक
काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु भन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको भनाईलाई लिएर बहस चलिरहेका बेला नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रतिक्रिया दिएका छन्।नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै दिएको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ।
यही विषयमा प्रकाशित समाचार साझा गर्दै पूर्वआईजीपी खापुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले उक्त अभिव्यक्तिलाई कानुन र सुशासनको सन्दर्भमा बुझ्नुपर्ने बताएका छन्।खापुङले लेखेका छन्, “यो विषयलाई कानुन र सुशासनको फ्रेमवर्कभित्र हेर्नुपर्छ। कानुनअनुसार नै हुनुपर्छ, मन्त्रीको आशय पनि त्यही हो जस्तो लाग्छ।”
पूर्वआईजीपी खापुङको भनाइलाई मन्त्री लम्सालको अभिव्यक्तिको फरक व्याख्याका रूपमा हेरिएको छ। उनले मन्त्रीको अभिव्यक्तिको शाब्दिक अर्थभन्दा पनि विकास निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध कडा सन्देश दिन खोजिएको आशय रहेको संकेत गरेका छन्।मन्त्री लम्सालको उक्त अभिव्यक्तिपछि कतिपयले सार्वजनिक पदमा रहेका व्यक्तिले हिंसात्मक भाषा प्रयोग गर्नु अनुचित भएको बताएका छन् भने अर्काथरीले विकास आयोजनामा वर्षौंदेखि हुने ढिलासुस्तीप्रति जनप्रतिनिधिको असन्तुष्टि स्वाभाविक भएको तर्क गरेका छन्।पूर्वआईजीपी खापुङको पछिल्लो प्रतिक्रियासँगै मन्त्री लम्सालको अभिव्यक्तिलाई लिएर चलिरहेको बहसमा नयाँ दृष्टिकोण थपिएको छ।
