समाचार

चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद दुई जना भारतीय नागरिक पक्राउ

Spread the love


चितवन । चितवन प्रहरीले अवैध रूपमा भण्डारण गरिएको ८० हजारभन्दा बढी पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र भारतको मोतिहारी घर भई हाल भरतपुर महानगरपालिका–३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार (राज जैसवाल) रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत विभिन्न प्रकारका पटाकाजन्य विस्फोटक पदार्थ गरी ८० हजार ३ सय ७२ पिस बरामद गरेको जनाएको छ।


बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४ सय ६५ रुपैयाँ रहेको छ। त्यस्तै, प्रहरीले १ लाख ७२ हजार ३ सय रुपैयाँ नेपाली नगदसमेत बरामद गरेको छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी पटाकाजन्य विस्फोटक पदार्थको अवैध कारोबार हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको छ।
पटाकाको प्रयोगले आगलागी, दुर्घटना तथा मानवीय क्षति निम्त्याउन सक्ने भएकाले अवैध कारोबार नियन्त्रण र सार्वजनिक सुरक्षा कायम गर्न प्रहरी सक्रिय भएको हो।
चाडपर्वको समयमा अवैध विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ठूलो परिमाणमा पटाका बरामद हुनुले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात तथा बिक्री वितरणमाथि थप निगरानी आवश्यक रहेको देखाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।