चितवनमा २ हजार ३१५ पिस लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ
चितवन । चितवन प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ साल कार्तिक १६ गते राति करिब ८ः४५ बजे राप्ती नगरपालिका–१ लोथरस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो।
प्रहरीले जाँचका क्रममा बा.प्र.०१–००१ ज ०६३० नम्बरको भ्यानमा सवार तनहुँको बन्दीपुर गाउँपालिका–५ निवासी करिब २४ वर्षीय सन्तोष गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनको झोलाबाट लागूऔषध ट्रामाडोल २ हजार ३१५ पिस ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ परेका गुरुङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय चितवनका विभिन्न नाका तथा सडक क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र सवारीसाधन जाँचलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
