समाचार

बरामद रकमको मुचुल्का तयारपार्ने काम भइरहेको घटनाबारे थप अनुसन्धान जारी

Spread the love

मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा विद्युतीय कारलाई अख्तियारको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। उनका आफन्त सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ बरामद भएपछि घिमिरेलाई सोमबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।

कारको जाँच गर्ने क्रममा शंकास्पद ३३ लाख रुपैयाँ नगद फेला परेको अख्तियारले जनाएको छ। त्यसपछि कारका चालक तथा त्यसमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको थियो।

भुवन ढुङ्गेल प्रमुख प्रशासकीय अधिकृत घिमिरेका भाइ नाता पर्ने व्यक्ति रहेको बताइएको छ। कारबाट बरामद भएको रकम घिमिरेले घुसबापत लिएको र व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ।

कारमा रकम भेटिएपछि अख्तियारको टोली नगरपालिकाको कार्यालय पुगेको थियो। टोलीले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिएर घटनास्थलमा ल्याएको हो।

तर, घिमिरेले भने आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन्। घटनास्थलमा बरामद रकमको मुचुल्का तयार पार्ने काम भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।