झाक्रीले पोस्ट किन हटाएकी थिइन? स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल
राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री बालेन शाहको हालैको फेसबुक पोस्टलाई संकेत गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणी चर्चाको विषय बनेको छ।झाक्रीले आफ्नो फेसबुक स्टाटसमार्फत दिल निशानी मगरको एक अभिव्यक्तिलाई उद्धृत गर्दै “सुधार केन्द्रमा बस्नुपर्नेहरू सिंहदरबारमा बसिरहेका छन्” भन्ने टिप्पणी साझा गरेकी थिइन्।
उनको पोस्टमा क्रिकेटमार्फत बहुआयामिक विकास गर्ने नीति, १३ हजार ५०० फिटको उचाइमा क्रिकेट रंगशाला निर्माण गर्ने कार्यक्रम र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने गतिविधिलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो। अन्त्यमा उनले “समर्थन र वाहवाही कस्तो राम्रो गज्जब आइडिया” भन्ने टिप्पणी गरेकी थिइन्।सामाजिक सञ्जालमा उक्त पोस्टलाई प्रधानमन्त्री बालेन शाहले केही समयअघि अपि हिमाल क्षेत्रको तस्वीर सार्वजनिक गर्दै गरेका विकाससम्बन्धी अभिव्यक्तिसँग जोडेर हेरिएको छ। यद्यपि झाक्रीले पोस्टमा कसैको नाम स्पष्ट रूपमा उल्लेख गरेकी छैनन्।
पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा व्यापक प्रतिक्रिया देखिएको थियो। केही समयपछि भने झाक्रीले उक्त पोस्ट हटाएकी थिइन ।पोस्ट हटाइएपछि पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।हालसम्म झाक्रीले पोस्ट हटाउनुको कारणबारे कुनै सार्वजनिक स्पष्टीकरण दिएकी छैनन्। तस्वीरमा देखिएको पोस्टको आधारमा यो विषय सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ।
