नेताहरूले जनमत गुमाएको पुनर्गठन गरि नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा
सबिना प्रजा
नेकपा एमालेभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको संकेत देखिएको छ। अध्यक्ष केपी शर्मा ओली ले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल माथि पार्टी विभाजनतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएको खबर सार्वजनिक भएको छ।
गुण्डुमा बागमती प्रदेशका नेताहरूसँगको छलफलमा ओलीले पुनर्गठन अभियानलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गर्दै केही नेताहरू विपक्षीको योजनाअनुसार पार्टीलाई विभाजनको दिशातर्फ लैजान खोजिरहेको दाबी गरेको बताइएको छ। उनले विष्णु पौडेल र शंकर पोखरेलप्रति कडा टिप्पणी गर्दै पार्टीभित्र संकट सिर्जना गर्न खोजिएको आरोप समेत लगाएको समाचारमा उल्लेख छ।
यता एमालेभित्र भने निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको पक्षमा ठूलो मत देखिएको बताइएको छ। अधिकांश नेताहरूले जनमत गुमाएको एमालेलाई पुनर्गठनमार्फत नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेका छन्।एमालेको शीर्ष नेतृत्वबीच बढ्दो मतभेद र पुनर्गठन बहसले पार्टीभित्रको शक्ति संघर्ष सतहमै आएको विश्लेषण भइरहेको छ। आगामी दिनमा यो विवाद थप चर्किने कि सहमतिमा टुंगिने भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।
