अधिकृतहरूको कार्यशैलीमा पारदर्शिता अनुशासन व्यावसायिक मर्यादा आचारसंहिता लागू
सबिना प्रजा
आचारसंहितामा ८ बुँदामा विभिन्न नियम समेटिएका छन्। कार्यालय समय बाहिर सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सेवाको मर्यादा विपरीत हुने सामग्री पोस्ट वा शेयर गर्न निषेध गरिएको छ।स्थलगत भ्रमणका क्रममा सेवाग्राही, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट होटल, खाजा–खाना, सवारीसाधन वा अन्य सुविधा लिन नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, कार्यसम्पादनसँग सम्बन्धित विषयमा सेवाग्राहीसँग खाजा खाने अभ्यासलाई समेत रोक लगाइएको छ।
सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमा घट्ने, भ्रम फैलिने वा कर्मचारीको मानमर्दन हुने किसिमका सामग्री पोस्ट वा शेयर नगर्न आचारसंहितामा निर्देशन दिइएको छ।त्यस्तै, गाउँपालिका वा नगरपालिकाको कामसँग सम्बन्धित कुनै पनि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत पहिचान खुल्ने गरी गतिविधि गर्न नपाइने उल्लेख छ।सरकारी पदाधिकारीले कार्यालयसँग सम्बन्धित गुनासो वा असन्तुष्टि सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा नभई सम्बन्धित अध्यक्ष, प्रमुख वा मन्त्रालयमार्फत मात्र राख्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने वा राष्ट्रसेवकको मर्यादा घटाउने कुनै पनि गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ।सरकारी साधनको प्रयोगमा पनि कडाइ गरिएको छ। कार्यालय प्रयोजनबाहेक व्यक्तिगत काममा सरकारी सवारीसाधन प्रयोग गर्न नपाइने र सार्वजनिक बिदामा आवश्यक परे सवारी पास लिएर मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ।त्यस्तै, स्वीकृतिबिना विदेश भ्रमण, तालिम वा गोष्ठीमा सहभागी हुन नपाइने तथा दातृ निकाय वा अन्य संस्थासँग सहयोग माग गर्ने उद्देश्यले पत्राचार गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ।सरकारले यी सबै प्रावधानमार्फत स्थानीय तहमा कार्यरत प्रशासकीय अधिकृतहरूको कार्यशैलीमा पारदर्शिता, अनुशासन र व्यावसायिक मर्यादा कायम गर्ने लक्ष्य लिएको जनाएको छ।
