मन्त्रिपरिषद् बैठकमा व्यावसायिक सुदृढीकरण तथा नेपाली दुग्ध उत्पादनको संरक्षणबारे छलफल

Spread the love

सबिना प्रजा

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नीतिगत निर्णयसँगै एउटा फरक दृश्य थियो । स्वदेशी उत्पादनको प्रवर्द्धन र किसान हितलाई प्राथमिकतामा राख्दै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू उपहारस्वरूप वितरण गरिन्।प्याकेटमा दूध, केशर दूध, बटर, चिज, दही र पेँडा समावेश थिए। स्वदेशी वस्तुको प्रयोग बढाउने, किसानबाट संकलित दूधको बजार सुनिश्चित गर्ने तथा सरकारी स्वामित्वको संस्थानको बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरिएको बताइएको छ।

बैठकमा डीडीसीको प्रवर्द्धन, व्यावसायिक सुदृढीकरण तथा नेपाली दुग्ध उत्पादनको संरक्षणबारे समेत छलफल भएको थियो। मन्त्री चौधरीले किसानको हित र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारी तहबाटै उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताइन्।उनले डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनको उपभोग बढाउन सबैलाई आग्रह गरिन्।लामो समयदेखि नेपाली उपभोक्तालाई गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धनमा मन्त्रिपरिषद्को साथले थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।