सहकार्य सम्पर्क सञ्जाल विस्तार व्यापार तथा पारवहन ऊर्जा तथा जनस्तरको सम्बन्ध छलफल हुदै -परराष्ट्रमन्त्री शिशिर खनाल
भारतको औपचारिक भ्रमण परराष्ट्रमन्त्री शिशिर खनाल भारत पुगेका छन् । डा. एस जयशङ्कर को निमन्त्रणामा मन्त्री खनाल गत शुक्रबार नयाँदिल्ली पुगेका हुन्। शनिबार दुवै पक्षबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको थियो।वार्तामा नेपाल–भारत सम्बन्धका विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा तथा जनस्तरको सम्बन्ध सुदृढीकरणजस्ता विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा भइरहेको सहकार्यलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै सम्बन्ध अझ सुदृढ बनाउने सहमति गरेका छन्।यसै क्रममा भारतले सन् २०१५ को ‘भूकम्पपछिको पुनःनिर्माण सहयोग’ कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरेको छ।

साथै, नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानीलाई सहज बनाउन भारतको युपिआई (UPI) र नेपालको एनपीआई (NPI) बीच ‘पियर–टु–पियर’ आबद्धता शुभारम्भ गरिएको छ।डिजिटल सहकार्यअन्तर्गत ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्म विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।
