Sunday, June 7, 2026

यातायात व्यापार तथा डिजिटल सञ्जाल पर्यटन प्रवर्द्धन युवा तथा उद्यमीहरूका लागि प्रवर्द्धन गर्नुपर्नेमा जोड – प्रधानमन्त्री

Spread the love

सबिना प्रजा

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा जारी सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकले दक्षिण तथा दक्षिणपूर्वी एशियाको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्। उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमार्फत सम्पर्क विस्तार गरी सदस्य राष्ट्रहरूको अर्थतन्त्रबीच अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले बिम्स्टेकको दीर्घकालीन सफलता यसको जनतामा आधारित रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना, साथै जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गरेका छन्।

उनले एकापसमा जोडिएको, उत्थानशील र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि नेपाल सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न सदैव प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरेका छन्।यस्तै, छुट्टै सन्देश जारी गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सन् १९९७ मा स्थापना भएदेखि बिम्स्टेकले हासिल गरेको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गरेका छन्। उनले क्षेत्रीय सहयोगलाई संस्थागत र प्रभावकारी बनाउन बिम्स्टेक वडापत्र (चार्टर) को महत्त्व विशेष रहेको बताएका छन्।परराष्ट्रमन्त्री खनालले हासिल उपलब्धिहरूलाई थप सुदृढ गर्दै साझेदारीलाई मजबुत बनाउन र कार्यान्वयनको प्रभावकारिता बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा सदस्य राष्ट्रका नागरिकहरूबीच सम्बन्ध विस्तार गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रका सरकार तथा जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत स्थापना भएको बिम्स्टेक प्रारम्भमा बिस्ट–इक (BIST-EC) का रूपमा परिचित थियो। हाल यस सङ्गठनमा बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड गरी सात सदस्य राष्ट्र आबद्ध छन्। बिम्स्टेक क्षेत्रीय आर्थिक, प्राविधिक र सामाजिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सक्रिय रूपमा अघि बढिरहेको छ।