भविष्यमा प्रधानमन्त्रीलाई यस्ता सन्देश नपठाउने र्सतमा सचिव कृष्णहरि ७ घण्टा सर्तमा रिहा

Spread the love

उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर प्रधानमन्त्री बालेन्द्र शाहलाई मोबाइलमा व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरी अनुसन्धानमा परेका छन्। सोधपुछका लागि नियन्त्रणमा लिइएका उनलाई करिब सात घण्टापछि छाडिएको बताइएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार उनलाई सोधपुछका लागि बोलाएको थियो। त्यसपछि टेकुस्थित अपराध अनुसन्धान महाशाखामा पुगेर बयान दिएका पुष्करलाई राति अबेर भविष्यमा प्रधानमन्त्रीलाई यस्ता सन्देश नपठाउने सर्तमा रिहा गरिएको स्रोतले जनाएको छ।प्रहरी स्रोतका अनुसार, बहालवाला सचिवले पदीय मर्यादाविपरीत प्रधानमन्त्रीको निजी नम्बरमा व्यक्तिगत प्रकृतिको सन्देश पठाएको विषयमा अनुसन्धान गरिएको हो। सोधपुछपछि उनलाई उनकी पत्नी आभा श्रेष्ठको जिम्मामा छाडिएको बताइएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।

स्रोतका अनुसार, सचिव पुष्करले प्रधानमन्त्रीसँग भेटका लागि समय माग्दा सचिवालयबाट समय नपाएपछि निजी नम्बरमा सन्देश पठाएका थिए। उक्त सन्देशमा आफू राजदूत पदका लागि आवेदन दिन इच्छुक रहेको र त्यसमा प्रधानमन्त्रीको सहयोग तथा समर्थन अपेक्षा गरेको उल्लेख गरिएको बताइन्छ।पुष्कर आगामी असार २४ गते सचिव पदबाट अनिवार्य अवकाशमा जाँदैछन्। यसैबीच सरकारले विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा आवेदन खुला गरेपछि उनी पनि दाबेदारका रूपमा सक्रिय रहेको चर्चा छ। यसअघि उनले दक्षिण कोरिया र भारतस्थित नेपाली नियोगमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालिसकेका छन्।

प्रशासनिक वृत्तमा मुख्यसचिव बन्ने सम्भावना कमजोर देखिएपछि उनी भारत वा जापानका लागि राजदूत बन्न इच्छुक रहेको चर्चा समेत चलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग पुरानो चिनजान र सम्बन्ध रहेको कुरा उनले निकटस्थहरूसँग बताउने गरेको स्रोतको दाबी छ।स्रोतले उद्धृत गरेअनुसार, पुष्करले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा आफू बहालवाला सचिव भएकाले राजदूत पदका लागि योग्य उम्मेदवार रहेको उल्लेख गर्दै सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयले यस विषयलाई गम्भीर रूपमा लिएर प्रहरीलाई जानकारी गराएको बताइएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, व्यक्तिगत स्वार्थ वा पद प्राप्तिका लागि गरिने दबाब र पहुँचको प्रयासलाई प्रधानमन्त्रीले सुशासन तथा नैतिकतासँग जोडेर हेर्ने गरेका छन्। यही कारण उक्त सन्देशपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।यद्यपि, यस घटनाबारे प्रधानमन्त्री कार्यालय, प्रहरी तथा सचिव पुष्करको तर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। त्यसैले घटनाका केही पक्षहरू अझै पुष्टि हुन बाँकी रहेका छन्।