३५ वर्षअघि नै निजी व्यक्तिको नाममा बिक्री जग्गाको स्वामित्व नै गायब भएको खुलासा

Spread the love

करिब १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा ३५ वर्षअघि नै निजी व्यक्तिको नाममा बिक्री भएको चकित पार्ने तथ्य सार्वजनिक भएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकाररकाे नाममा रहेकाे मन्त्रालयले कम्पाउन्ड वाल निर्माणका लागि प्रक्रिया अघि बढाउँदा मात्र नेपाल सरकारको नाममा रहेको जग्गाको स्वामित्व नै गायब भएको खुलासा भएको हो। त्यसपछि गरिएको खोजबिनमा नेपालले १९८९ मा खरिद गरेको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटकसम्म निजी व्यक्तिको नाममा बिक्री भइसकेको भेटिएको छ।प्राप्त विवरणअनुसार उक्त जग्गा नेपाल सरकारका तत्कालीन अवैतनिक वाणिज्यदूत अल्बर्ट एडिरिसिङ्घेको नामबाट सन् १९९० मै निजी व्यक्तिलाई बिक्री गरिएको देखिन्छ। त्यसपछि सन् १९९४ मा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएको रेकर्ड फेला परेको छ।

अझ अचम्मको कुरा के छ भने सन् १९९५ देखि कोलम्बोमा नेपाली दूतावास सञ्चालनमा रहे पनि दूतावास, राजदूत वा परराष्ट्र मन्त्रालयले ३५ वर्षसम्म उक्त जग्गा बिक्री भएको तथ्य पत्ता लगाउन सकेनन्। नेपाल सरकारको सम्पत्ति अरूको नाममा गएको जानकारी मन्त्रालयले २०२५ मा मात्र प्राप्त गरेको थियो।जग्गा खरिद गर्दा नेपाल सरकारले करिब ३ लाख ६० हजार अमेरिकी डलर तिरेको थियो। हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान गरिएको छ।

घटना सार्वजनिक भएपछि सरकारी सम्पत्तिको संरक्षण, परराष्ट्र मन्त्रालयको निगरानी प्रणाली तथा विदेशस्थित नेपाली दूतावासहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। अझ नेपाल सरकारले आफ्नो नाममा खरिद गरेको जग्गाको आधिकारिक स्वामित्व कागजातसमेत दूतावाससँग नरहेको तथ्यले सरकारी लापरबाहीको अर्को पाटो उजागर गरेको छ।यता, कोलम्बोस्थित नेपाली दूतावास भने आफ्नै जग्गा हुँदाहुँदै दशकौँदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको छ। दूतावास र राजदूत निवासका लागि नेपाल सरकारले वार्षिक करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी भाडा खर्च गरिरहेको छ।