नेपालले भारतको भूमि मिचेको अभिव्यक्तिले रास्वपाका सांसद बब्लु गुप्ताले पेस गरेको प्रमाण विवादमा

Spread the love

सबिना प्रजा

प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउमा लागेका रास्वपा सांसद तथा कार्यकर्ताहरूले विभिन्न सीमाक्षेत्रका उदाहरण देखाउँदै नेपालले पनि सीमा मिचेको पुष्टि गर्न खोजिरहेका छन् । यही क्रममा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बब्लु गुप्ताले सिरहा नगरपालिका–२० गदियानीको जंगे पिलरसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री शाहको भनाइ सही भएको दाबी गरेका थिए ।गुप्ताले फेसबुकमा ‘सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ । अब भन्नुस्– प्रधानमन्त्री बालेनले संसद्‌मा झुट बोले कि सही ?’ लेखेका थिए । उनको आशय नेपाली नागरिकले दशगजा मिचेको भन्ने थियो ।तर सिरहामा लामो समयदेखि सीमा मामिलामा रिपोर्टिङ गर्दै आएका पत्रकार शम्भु यादवले गुप्ताको दाबी गलत र भ्रमपूर्ण भएको बताएका छन् । यादवका अनुसार गुप्ताले उल्लेख गरेका ज्ञानी मुखिया नेपाली नभई भारतीय नागरिक हुन् । उनी भारतको लगडी गाउँका बासिन्दा भएको र जंगे पिलर भएको क्षेत्रमा उनको घरआँगन फैलिएको यादवको भनाइ छ ।

यादवका अनुसार यो विषय नयाँ होइन । सन् २०१९ मा पनि उनले अन्नपूर्ण पोस्टमा यसबारे समाचार लेखेका थिए । त्यसबेला लगडी गाउँका ज्ञानी मुखियाको घरआँगनमै जंगे पिलर रहेको र उनको सुत्ने घर भारततर्फ तथा गाईगोरु बाँध्ने क्षेत्र नेपालतर्फ परेको उल्लेख गरिएको थियो ।सिरहाको गदियानी क्षेत्रमा देखिएको समस्या सीमा अतिक्रमणभन्दा बढी ‘क्रस बोर्डर होल्डिङ’ अर्थात् सीमावारपारको भोगचलनसँग सम्बन्धित रहेको सीमा मामिलाका जानकारहरू बताउँछन् । यस्तो अवस्थामा सीमा रेखा निश्चित भए पनि स्थानीयले व्यवहारिक रूपमा अर्को देशको भूभागमा खेती, बसोबास वा भोगचलन गरिरहेको अवस्था हुन्छ ।तर यसलाई औपचारिक कब्जा वा जानाजानी अतिक्रमण भन्न नमिल्ने उनीहरूको तर्क छ । क्रस बोर्डर होल्डिङ नेपाल–भारत खुला सीमाका धेरै भागमा देखिने पुरानो समस्या हो ।

सिर्सिया नदीजस्ता क्षेत्रमा नदीको धार परिवर्तन हुँदा नेपाली जमिन भारततर्फ र भारतीय जमिन नेपालतर्फ परेको उदाहरण छन् । यस्तो अवस्थामा कतै नेपालीले भारतीय भूभागमा खेती गरेका छन् भने कतै भारतीय नागरिकले नेपाली भूभाग प्रयोग गरिरहेका छन् ।सिरहाको गदियानी क्षेत्रमा पनि दशगजा र क्रस बोर्डर होल्डिङको समस्या रहेको पत्रकार यादव बताउँछन् । उनका अनुसार दक्षिणतर्फबाट भारतीय नागरिक र भारतीय सुरक्षा बल एसएसबीद्वारा दशगजा अतिक्रमण बढी देखिएको छ ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि रास्वपाका सांसद र समर्थकहरूले त्यसलाई ‘साहसिक’ भनिरहँदा गुप्ताले पेस गरेको उदाहरण उल्टै गलत साबित भएको दाबी गरिएको छ । आलोचकहरूले प्रधानमन्त्रीको गम्भीर अभिव्यक्तिलाई बचाउन गलत तथ्य प्रयोग गरिएको आरोप लगाएका छन् ।नेपालले भारतको भूमि मिचेको दाबी भारतले औपचारिक वा अनौपचारिक रूपमा अहिलेसम्म नगरेको दाबी पनि गरिएको छ । बरु कालापानी, सुस्ता लगायत २३ स्थानमा भारतले नेपाली भूमि कब्जा गरेको नेपालको पुरानो अडान रहेको छ ।नेपालले २०७७ सालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्दै संविधान संशोधनमार्फत सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । त्यतिबेला सबै दलहरू राष्ट्रिय मुद्दामा एक ठाउँमा उभिएका थिए ।तर अहिले प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको भन्दै सडकदेखि सदनसम्म विरोध भइरहेको छ ।