नरेश भट्टल आरोप अस्वीकार आफू निर्दोष रहेको दाबी
अदालतमा प्रस्तुत विवरणअनुसार, नरेशको घरमा सन् २०२४ जुलाई ३१ मा दुई घण्टाभित्र करिब १६० ग्यालन पानी खपत भएको थियो। अनुसन्धानकर्ताहरूले करौँतीमा रातो–खैरो दाग र कपालजस्ता रेशा भेटिएको पनि बताएका छन्। अभियोजन पक्षले यी प्रमाणलाई घटनासँग जोडेर व्याख्या गरेको छ।अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्ट बेपत्ता भएको प्रकरणमा उनका श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दाको सुनुवाइ जारी छ। अभियोजन पक्षले ममताको हत्या गरी शव लुकाएको आरोप पुष्टि गर्न करौँतीमा भेटिएका शंकास्पद दाग, निगरानी क्यामेराका दृश्य र अन्य परिस्थितिजन्य प्रमाण अदालतमा प्रस्तुत गरिरहेको छ। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
त्यस्तै, नरेशको गुगल सर्च हिस्ट्रीमा जीवनसाथीको मृत्युपछि ऋण र पुनः विवाह गर्न लाग्ने समयबारे खोजिएको विवरण पनि अदालतमा प्रस्तुत गरिएको छ। तर, जिरहका क्रममा ती खोजी कसले गरेको हो भन्नेबारे साक्षीले निश्चित रूपमा पुष्टि गर्न नसकेको बताएका छन्। प्रतिवादीका वकिलहरूले प्रमाणहरूको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
नरेश भट्टले आफूमाथिका आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। मुद्दाको अन्तिम फैसला आइसकेको छैन, र अभियोजन पक्षले आरोपहरू अदालतमा शंकाभन्दा पर प्रमाणित गर्नुपर्नेछ।
