धवल शम्शेर राणाले पार्टी परित्याग नयाँ राजनीतिक शक्त्ति निर्माणकाे तयारीमा

Spread the love

सबिना प्रजा

अध्यक्ष राजेन्द्र लिङ्देनसँग कार्यशैली, संगठन सञ्चालन र राजनीतिक दिशालाई लिएर चलिरहेको विवाद अन्ततः पार्टी विभाजनको मोडमा पुगेको छ।राणाले पछिल्लो समय पार्टीभित्र अध्यक्ष लिङ्देनको नेतृत्वशैलीमाथि खुला आलोचना गर्दै आएका थिए। उनले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेर नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया तथा सत्ता केन्द्रित राजनीतिप्रति असन्तुष्टि जनाएका थिए। त्यसयता राप्रपाभित्र दुई धारबीचको दूरी झन् बढ्दै गएको थियो।विवादको मुख्य कारणमध्ये संगठन विभाग प्रमुखबाट राणालाई हटाइनु, फरक मत राख्ने नेतामाथि गरिएको कारबाही, महाधिवेशनको विषयमा देखिएको मतभेद तथा राजावादी आन्दोलनप्रतिको पार्टीको भूमिकालाई लिइन्छ। राणा पक्षले नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउन नसकेको र कार्यकर्ताको भावना विपरीत निर्णय गरेको आरोप लगाउँदै आएको थियो।पछिल्लो समय राप्रपाभित्रको आन्तरिक असन्तुष्टि चरम बिन्दुमा पुगेपछि धवल शम्शेरले जेठ १७ गते औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका थिए। उनी निकट नेताहरूका अनुसार अब राप्रपाको विकल्पका रूपमा नयाँ राष्ट्रवादी तथा राजावादी राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्य भइरहेको छ।

स्रोतका अनुसार धवल शम्शेरले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको एजेन्डालाई केन्द्रमा राखेर नयाँ दल गठनका लागि विभिन्न समूहसँग छलफल गरिरहेका छन्। यस अभियानमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित विभिन्न राजावादी धारका नेताहरू सहभागी रहेको बताइएको छ।राणानिकट नेताहरूको दाबी अनुसार नयाँ पार्टी राप्रपाको प्रतिरूप मात्र हुने छैन, बरु समयअनुकूल, स्पष्ट वैचारिक आधार भएको र जनविश्वास जित्न सक्ने राष्ट्रवादी शक्तिका रूपमा विकास गरिनेछ। उनीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका मतदाताले पछिल्ला निर्वाचनमा राप्रपामाथि विश्वास नगरेको निष्कर्ष निकाल्दै नयाँ विकल्प आवश्यक भएको बताएका छन्।

यता राणाको बहिर्गमनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक अपिल जारी गर्दै उनलाई निर्णय फिर्ता लिन आग्रह गरेका छन्। लिङ्देनले पार्टी महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै राणालाई महाधिवेशन प्रक्रियामा सहभागी हुन र पार्टीभित्रै रहेर विचार राख्न अनुरोध गरेका छन्। साथै उनले जेठ २८ र २९ गते बस्ने केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने जानकारी दिएका छन्।तर राणा पक्ष भने अब फर्किने सम्भावना न्यून रहेको बताउँछ। उनीहरूका अनुसार धवल शम्शेर राणा दुर्गा प्रसाईंसहित विभिन्न राजावादी शक्तिलाई एउटै मोर्चामा ल्याएर ‘कडा राजावादी’ राजनीतिक दल निर्माण गर्ने दिशामा अघि बढिसकेका छन्। यसले आगामी दिनमा राजावादी राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।