बजेटले सर्वसाधारणलाई मर्कामा पार्ने र उद्योगीलाई फाइदा पुर्याउने -राकेश सुराना
सबिना प्रजा
बजेटप्रति उद्योग क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ। ऊर्जा तथा विद्युतीय क्षेत्रमा सक्रिय उद्योग संगठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाले बजेटले सर्वसाधारणलाई मर्कामा पार्ने र उद्योगीलाई फाइदा पुर्याउने आरोप लगाएका छन्।
उनका अनुसार सरकारले ५० युनिटभन्दा माथिको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था मध्यमवर्गीय नागरिकका लागि प्रतिकूल हुनेछ। उनले सरकारले कम्तीमा १०० युनिटभन्दा माथिबाट कर लागू गर्नुपर्ने सुझाव दिइएको भए पनि त्यसलाई बेवास्ता गरिएको बताए।सुरानाले विद्युतलाई इन्धनको विकल्पका रूपमा प्रवर्द्धन गर्नुपर्ने अवस्थामा उल्टै कर लगाइनु गलत नीति भएको टिप्पणी गरे। उनका अनुसार यसले सर्वसाधारणलाई भान्साको खर्चदेखि दैनिक जीवनयापनसम्म असर पार्नेछ।
विद्युतीय सवारी नीतिबारे पनि उनले आपत्ति जनाएका छन्। अब मूल्यका आधारमा भन्सार निर्धारण गरिने व्यवस्थाले बजारमा एकाधिकार र मूल्य असन्तुलन बढ्न सक्ने उनको दाबी छ।उनले किलोवाट क्षमताको मापदण्ड हटाइ मूल्यका आधारमा कर लगाउने प्रणाली अवैज्ञानिक भएको भन्दै यसले उपभोक्तालाई दीर्घकालीन रूपमा महँगोमा सवारी खरिद गर्न बाध्य पार्ने बताए।यद्यपि, १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनामा पीपीए मोडल अघि बढाउने सरकारी तयारीलाई उनले सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।
