स्थानीय तथा प्रदेश निर्वाचनको तयारी इलेक्सन ब्यूरो लिडरसिप एकेडेमी गठन- गगन थापा
सबिना प्रजा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीबाट चुनाव लड्न चाहने व्यक्तिले ‘लिडरसिप एकेडेमी’मा भर्ना भएर अनिवार्य रूपमा प्रशिक्षण कोर्स पूरा गर्नुपर्ने बताएका छन्।नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी स्वरूप कांग्रेसले ‘इलेक्सन ब्यूरो’ र ‘लिडरसिप एकेडेमी’ गठन गरिसकेको जानकारी दिए।उनका अनुसार आगामी निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बन्न चाहने नयाँ वा पुराना सबै आकांक्षीले लिडरसिप एकेडेमीको कोर्स पूरा गर्नुपर्नेछ। यसले योग्य, सक्षम र प्रशिक्षित नेतृत्वलाई चुनावी मैदानमा उतार्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
थापाले आगामी स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्य पनि सार्वजनिक गरे। त्यसका लागि अहिलेदेखि नै महिला नेतृत्व विकास र प्रशिक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ।कांग्रेसले आगामी चुनावलाई लक्षित गर्दै संगठन सुदृढीकरण, नेतृत्व विकास र उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउने संकेत दिएको छ।
