राजदूत नियुक्तिका लागि सम्बन्धित मुलुकको भाषा जान्ने उम्मेदवारलाई थप प्राथमिकता दिइने

Spread the love

सबिना प्रजा

सरकारले राजदूत नियुक्तिका लागि नयाँ मापदण्ड लागू गर्दै अब अंग्रेजी भाषा जान्नेलाई मात्रै योग्य मान्ने व्यवस्था गरेको छ। परराष्ट्र मन्त्रालयले पहिलोपटक खुला आवेदन आह्वान गर्दै राजदूत बन्न आवश्यक न्यूनतम योग्यता सार्वजनिक गरेको हो।नयाँ मापदण्डअनुसार अंग्रेजी भाषामा दक्षता अनिवार्य हुनेछ। साथै सम्बन्धित मुलुकको भाषा जान्ने उम्मेदवारलाई थप प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।

सरकारले विदेशी मुलुकमा जागिर गरिरहेका वा पछिल्लो १० वर्षभित्र विदेशी जागिरमा रहेका व्यक्तिलाई राजदूत नियुक्तिका लागि अयोग्य ठहर गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्तिले पनि आवेदन दिन नपाउने व्यवस्था गरिएको छ।परराष्ट्र मन्त्रालयका अनुसार प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको हुनुपर्नेछ। यसलाई कूटनीतिक मर्यादा र राष्ट्रिय हितसँग जोडेर हेरिएको मन्त्रालयको भनाइ छ।

राजदूत नियुक्तिमा अब शैक्षिक योग्यता र अनुभवलाई पनि विशेष महत्व दिइने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातकोत्तर गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। कूटनीतिक क्षेत्र, उच्च सरकारी निकाय वा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तिलाई समेत प्राथमिकतामा राखिने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया अघि बढाएपछि यसलाई कूटनीतिक नियुक्तिमा पारदर्शिता र व्यावसायिकता ल्याउने प्रयासका रूपमा हेरिएको छ।