बजेटको मस्यौदालाई अन्तिम रूप दिने काम मन्त्रालयमा तीव्र बजेटलाई पूर्णता दिने क्रममा अर्थ मन्त्रालय आज रातभर जागा रहने

Spread the love

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) भोलि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। बजेटको मस्यौदालाई अन्तिम रूप दिने काम अहिले अर्थ मन्त्रालयमा तीव्र रूपमा भइरहेको छ।

अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको बजेट निर्माण टोली ‘फाइनल टच’ दिन व्यस्त रहेको स्रोतले जनाएको छ। बजेटलाई पूर्णता दिने क्रममा अर्थ मन्त्रालय आज रातभर जागा रहने तयारीमा छ।

स्रोतका अनुसार बजेटको आकार, कर्मचारी तलब वृद्धि तथा विभिन्न मन्त्रालयका प्राथमिकतासम्बन्धी महत्त्वपूर्ण विषय आज रातिसम्म टुंग्याइनेछ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको यो पहिलो बजेट भएकाले अर्थमन्त्री वाग्ले थप दबाबमा रहेका छन्। एकातिर सीमित स्रोत र अर्कोतर्फ जनताका उच्च अपेक्षाबीच सन्तुलन मिलाउनु सरकारका लागि चुनौतीपूर्ण बनेको छ।गत वर्षको सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो भने यस वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ तोकिएको छ। तर स्रोतका अनुसार आगामी बजेट २१ देखि २२ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

बजेटको आकार बढ्नुमा कर्मचारीको तलब वृद्धिले पनि प्रभाव पार्ने देखिएको छ। सरकारले कर्मचारीको तलब बढाउने तयारी गरे पनि कति प्रतिशतले बढाउने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।स्रोतका अनुसार कर्मचारीको तहअनुसार फरक–फरक प्रतिशतमा तलब वृद्धि गर्ने खाका तयार गरिएको छ। तर तलब थोरै बढाउँदा पनि राज्यलाई ठूलो आर्थिक दायित्व थपिने भएकाले अर्थमन्त्री दबाबमा रहेका छन्।दुई दिनअघि अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। उक्त छलफलमा बजेटको प्रारम्भिक मस्यौदामाथि सुझाव आदानप्रदान भएको र त्यसकै आधारमा अहिले अन्तिम परिमार्जन भइरहेको बताइएको छ।