तत्कालीन गृहमन्त्री सुधन गुरूङ माथि लागेको आरोप बारे सरकारले निष्पक्ष छानबिन गर्ला त?
नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले तत्कालीन गृहमन्त्री सुधन गुरूङ माथि लागेको आरोपबारे सरकारले निष्पक्ष छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले सरकारको सुशासन अभियानमाथि नै प्रश्न उठाए। उनले अरूलाई भ्रष्टाचारको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत हुने सरकारले आफ्नै पूर्वगृहमन्त्रीमाथि लागेको गम्भीर आरोपबारे किन मौन बसेको भन्दै आलोचना गरे।
“अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने, तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ?” उनले प्रश्न गरे।
आङ्देम्बेले सभामुखमार्फत सरकारसँग तत्कालीन गृहमन्त्रीमाथि लागेको आरोपको निष्पक्ष छानबिन किन नगरिएको भन्ने जवाफ मागे।
त्यस्तै उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको लम्साल आयोग को प्रतिवेदन कार्यान्वयन नभएको विषय पनि उठाए।
“सम्पत्ति छानबिन गर्न आयोग बनाउनु भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “तर २०४७ देखि २०५९ सम्मको छानबिन गरेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयनमा किन ल्याइँदैन ?”
उनले प्रतिवेदनहरू बनाउने तर कार्यान्वयन नगरी दराजमा थन्क्याउने प्रवृत्ति दोहोरिए अहिलेको सुशासनको नारा अर्थहीन हुने चेतावनी दिए।
आङ्देम्बेको अभिव्यक्तिपछि संसद्मा सुशासन, भ्रष्टाचार छानबिन र राजनीतिक दोहोरो मापदण्डबारे बहस चर्किएको छ।
